प्रत्यक्षमा कांग्रेस पहिलो, दोस्रोमा एमाले

Chunab Chinhaकाठमाडौं, १० मंसिर । दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ कांग्रेसले पहिलो स्थान ओगटेको छ भने एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा आएका छन् । २३९ चुनाव क्षेत्रको परिणाम आइसक्दा कांग्रेस सबैभन्दा ठूलो दल बनेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ २४० सिटका लागि भएको चुनावमा कांग्रेसले १०५, एमालेले ९१ र एमाओवादीले २५ स्थान हात पारेका छन् । त्यस्तै फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीले ४/४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, फोरम नेपालले २, नेपाल मजदुर किसान पार्टी, तराई मधेस सदभावना पार्टी र सद्भावना पार्टीले १/१ अनि स्वतन्त्रमा दुई जनाले विजय हासिल गरेका छन् । यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ सप्तरी क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम आउन बाँकी छ ।
अघिल्लो संविधानसभा चुनावमा प्रत्यक्ष्तर्फ दोस्रोमा कांग्रेसले ३७, तेस्रो स्थानमा एमालेले ३३ र पहिलो स्थानमा एमाओवादीले १ सय २० सिट जितेको थियो ।
दुई क्षेत्रमा उम्मेदवारी दिएका ९ शीर्ष नेतामध्ये चार जनाले दुवै र अन्यले एक/एक ठाउँबाट विजय हासिल गरेका छन् । कांग्रेस सभापति कोइराला बाँके क्षेत्र नम्बर ३ र चितवन ४, वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कैलाली ६, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २ र रौतहट १, उपाध्यक्ष वामदेव गौतम प्युठान १ र बर्दिया १ गरी दुवै ठाउँबाट चुनाव निर्वाचित भएका छन् । कोइराला, नेपाल र गौतमले अघिल्लो चुनावमा पराजय बेहोरेका थिए ।
इलाम क्षेत्र नम्बर १ बाट विजय हुन सफला एमाले अध्यक्ष झलनाथ खनाल सर्लाही १ मा भने पराजित भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० मा पराजित भएका छन् भने सिरहा ५ बाट संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । एमाओवादीकै नेता डा. बाबुराम भट्टराई गोरखा १ बाट विजयी भएका छन् भने रुपन्देही ४ मा पराजित भएका छन् । मोरङ ५ मा हार बेहोरेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरी ५ बाट चुनाव जितेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मोरङ–७ मा पराजय भोगेका छन् भने सुनसरी–३ बाट संविधानसभामा निर्वाचित भएका छन् ।
स्वतन्त्रमा जित्नेमा कपिलवस्तु २ बाट अतहर कमाल मुसलमान र महोत्तरी ४ बाट चन्द्रेश्वर झा छन् । अघिल्लो चुनावबाट बबन सिंह र सदरुलमियाँ हक गरी दुई जना नै संविधानसभामा पुगेका थिए । त्यस्तै अघिल्लो चुनावमा ३० महिला निर्वाचित भएकोमा यसपटक १० जना मात्र प्रत्यक्षबाट संविधानसभामा पुगेका छन् । निर्वाचित महिलामा सीतादेवी यादव, किरण यादव, नजमा खातुन, शारदा पौडेल, सीता गिरी ओली, मञ्जुकुमारी चौधरी, ज्ञानकुमारी छन्त्याल, ओनसरी घर्ती, पार्वती डिसी चौधरी र सुशीला चौधरी छन् । जसमा कांग्रेसबाट ६, एमालेबाट ३ र एमाओवादीबाट एक छन् ।
प्रत्यक्षमा १२७ राजनीतिक दलका ६ हजार १ सय २८ उम्मेदवार चुनावी मैदानमा थिए । समानुपातिकतर्फ १ सय २२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् । समानुपातिकतर्फ प्राप्त मतको अनुपातमा राजनीतिक दलहरूले ३३५ सिटलाई वितरण गरी बन्दसूचीबाट संविधानसभाका लागि प्रतिनिधि चयन गर्ने छन् ।
आयोगका अनुसार समानुपातिकको मतगणनामा एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । आइतबार बेलुकासम्मको मतगणनामा एमालेले ५ लाख ८३ हजार ३ सय ७२ र कांग्रेसले ५ लाख ५९ हजार ५ सय १२ मत पाएको छ । त्यस्तै एमाओवादीले ३ लाख ८६ हजार ७ सय ८८, राप्रपा नेपालले १ लाख ६९ हजार १ सय ३२ मत पाएका छन् । २० हजारभन्दा बढी मत पाउने दलको संख्या १० पुगेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिक, नेकपा माले, राष्ट्रिय जनमोर्चा संघीय समाजवादी पार्टी, नेकपा संयुक्त छन् । प्रत्यक्षतर्फ कांग्रेसले ७ र एमालले ३ स्थान जितेको काठमाडौंमा भने समानुपातिकमा राप्रपा नेपालले अग्रता लिएको छ ।
९ जिल्लाको १७ चुनाव क्षेत्रको समानुपातिकको मतगणना भइसकेको आयोगले जनाएको छ । मतगणना सम्पन्न भएका क्षेत्रहरूमा मनाङ, कास्की १, २, ३ र ४, डोल्पा, पाँचथर २, रसुवा १, धादिङ १, २ र ३, डोटी १ र २, धनकुटा १ र २, गुल्मी १, तनहुँ २, बारा २ र म्याग्दी छन् ।
१ करोड २१ लाख ४७ हजार ८ सय ४५ मतादाता रहेकोमा ७० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको विरोधका बाबजुद पनि ४ मंसिरमा दोस्रो संविधानसभा चुनावका लागि मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए । आयोगका अनुसार यसपटक अघिल्लो संविधानसभा चुनावको तुलनामा करिब १० प्रतिशत बढी मत खसेको छ । अघिल्लो चुनावमा ६१ दशमलव ७ प्रतिशत मत खसेको थियो । उक्त चुनावमा समानुपातिकतर्फ ६३ दशमलव ३ प्रतिशत मत खसेको थियो । त्यसैगरी ०५६ को आमचुनावमा ६५ दशमलव ६९, ०५१ को मध्यावधि चुनावमा ६१ दशमलव ६८ र ०४८ को आमचुनावमा ६८ दशमलव १५ प्रतिशत मत खसेको थियो ।
‘सबै नमिले संविधान बन्दैन’
चितवन : कांग्रेस सभापति सुशील कोइरालाले सबै राजनीतिक दलहरू नमिले संविधान नबन्ने बताएका छन् ।
नारायणगढमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले ठूलो दल र बढी मत ल्याउँदैमा कसैले घमण्ड गर्ने अवस्था नरहेको बताए । ‘अब बढी मत आयो भन्दैमा घमण्ड गर्ने ठाउँ छैन,’ कोइरालाले भने, ‘सबै राजनीतिक दलहरू नमिले संविधान बन्दैन ।’
उनले सबै दलको सहमतिमा संयुक्त सरकार गठन हुने उल्लेख गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य जिम्मेवार नेता भएको टिप्पणी गरे । ‘उहाँहरू सबैको सहमतिमा संयुक्त सरकार बनाएर एक वर्षभित्र जनतालाई संविधान दिनुपर्छ,’ उनले भने ।
उनले एमाओवादी संविधानसभामा आउँदैन भन्ने प्रश्न नसोध्न आग्रह गर्दै यस्ता कुरा आफूले कल्पनासम्म पनि नगरेको स्पष्ट पारे । ‘उहाँहरूकै मागमा संविधानसभा चुनाव भयो, अब संविधान बनाउने बेला के जंगल जान सुहाउँछ ?,’ उनले प्रश्न गरे । राष्ट्र कमजोर अवस्थामा पुगेको बेला सबै दल जिम्मेवार नबने देश दुर्घटनातर्फ जाने उनको भनाइ थियो ।

प्रतिक्रिया