सहमति नभए, बहुमतबाट संविधान : देउवा

Sher Bd Deuba 1कैलाली, ९ मंसिर । कांग्रेसका नेता शेरबहादुर देउवाले सहमतिबाट नभए दुईतिहाई बहुमतबाटै भएपनि नयाँ संविधान ल्याईने बताएका छन् ।

धनगढीमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले संविधान सहमतिको दस्तावेज भएकाले पहिला सहमतिबाटै नयाँ संविधान निर्माणको प्रयास गरिने बताए । ‘संविधान सहमतिको दस्तावेज हो,’ उनले भने, ‘सहमतिबाट सम्भव भएन भने दुईतिहाई बहुमतबाट भएपनि नयाँ संविधान एकबर्ष भित्रै दिन्छौं ।’

उनले एमाओवादी संवैधानिक प्रकृयामा समावेश हुनेमा विश्वस्त रहेको बताए । ‘म यहाँबाट फर्के पछि एमाओवादी नेताहरु र चुनावी प्रकृयामा नआएका ३३ दलसँग संविधान निर्माणको प्रकृयामा सहभागी गराउने प्रयत्न गर्नेछु,’ देउवाले भने ।

उनले नयाँ संविधानमा सबैका भावनालाई समेटिने बताए । ‘दलित, आदिवासी जनजाती सबै समुदाय र वर्गको संविधान बन्ने छ,’ उनले भने, ‘कांग्रेस संविधान निर्माण प्रकृयामा सबैको भावनालाई समेट्न लचिलो हुन्छ । तर, प्रजातन्त्रका मुलभुत सिद्धान्त र प्रकृयालाई छाड्ने छैन ।’

नेपाली जनताले लोकतान्त्रिक शक्तिलाई जिताएकोले मुलुकले लोकतान्त्रिक संविधान पाउने उनले बताए ।

प्रतिक्रिया