लगातार जितिरहनेहरू

deubaa-jiकाठमाडौं, ९ मंसिर । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा राष्ट्रिय राजनीतिका प्रभावशाली नेता हुन् । हरेक राजनीतिक परिवर्तनपिच्छे उनको नाम प्रधानमन्त्रीका रूपमा अगाडि आउने गरेको छ । ०४७ सालदेखिकै इतिहास हेर्ने हो भने नेता देउवाले हारको पीडा व्यहोर्नुपरेको छैन । जस्तोसुकै राजनीतिक अवस्थामा पनि उनलाई डडेलधुराका जनताले जिताउने गरेका छन् । संविधानसभाको पहिलो निर्वाचनमा भने उनी डडेलधुरासँगै कञ्चनपुर–४ बाट पनि चुनावी मैदानमा उत्रेका थिए । सो निर्वाचनमा पनि उनी दुवै क्षेत्रबाट विजयी भएका थिए । यसपटकको संविधानसभाको निर्वाचनमा पनि देउवा डडेलधुरा र कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए । यसपटक पनि उनलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले विजयी बनाए ।

कांग्रेसका नेता रामचन्द्र पौडेल पनि अर्का भाग्यमानी नेता हुन् । उनले आजसम्म पराजयको पीडा भोग्नुपरेको छैन । ०४८ को संसदीय निर्वाचनमा तनहुँ–१ बाट चुनाव जितेका पौडेल ०५१ र ०५६ को आमनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पौडेलले ती दुवै निर्वाचनमा पनि जितको माला पहिरिए । यसअघिको संविधानसभा र अहिलेको संविधानसभामा पनि पौडेल तनहुँ क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनेका थिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि पनि भक्तपुर–१ पकेट क्षेत्र नै हो । ०४७ सालयता बिजुक्छे सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । त्यहाँ उनले सधैँ फराकिलो मतान्तरले जितेका छन् । यो क्रम यसपटकको संविधानसभाको निर्वाचनमा पनि जारी रह्यो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि २०४८ सालदेखि निरन्तर चुनाव जित्ने नेता हुन् । उनले संविधानसभाको दोस्रो निर्वाचनमा एक स्थानबाट पराजय भोगे पनि अर्को क्षेत्रबाट जित हात पार्दै विजयको क्रम जारी राखे ।
०४८ सालको आमनिर्वाचनमा नुवाकोट–१ बाट चुनाव हारेका कांग्रेस नेता डा. रामशरण महत पनि त्यसपछिका हरेक निर्वाचनमा नुवाकोट–२ बाट विजयी हुँदै आएका छन् । पटक–पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका महत ०४८ को निर्वाचनमा पराजित भए पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । यसपटकको निर्वाचनमा उनले एमाओवादीका हितबहादुर तामाङलाई पराजित गर्दै जितको क्रम जारी राखेका छन् ।

प्रतिक्रिया