एमाओवादीमा विवाद चुलियो

maobadiकाठमाडौं, ९ मंसिर । समग्र निर्वाचन प्रकृया र संविधानसभामा सहभागिता जनाउने वा नजनाउने भन्ने विषयमा एमाओवादीभित्र विवाद चुलिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिन नगरिए संविधानसभामा सहभागी नहुने अडानमा छन् । नेता डा. बाबुराम भट्टराई सानै संख्यामा भए पनि जनताको मतको कदर गर्न पार्टीले अहिलेको निर्वाचन प्रक्रियालाई स्वीकार गरेर संविधानसभामा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् ।

दुई दिन अघिसम्म पनि निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै प्रक्रिया रोकेर निष्पक्ष छानबिन हुनुपर्ने र निर्वाचन पुनरावलोकन गरिनुपर्ने अडानमा रहे पनि शनिबारबाट डा. भट्टराई र श्रेष्ठले लाइन परिवर्तन गरेका हुन् । पार्टी अध्यक्ष दाहाल अझै अडानमै कायम छन् । अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि संविधानसभामा सहभागी भएरै अगाडि बढ्नुपर्ने लाइनमा छन् ।
एकाएक डा. भट्टराई र श्रेष्ठले लाइन परिवर्तन गरेपछि पार्टीभित्रको विवाद बढेर गएको छ । भट्टराईले शनिबार विज्ञप्ति नै जारी गरेर वैधानिक विधि र प्रक्रियाबाट नै अघि बढ्ने भन्दै अध्यक्षको अडानको विरुद्धको लाइन समातेका छन् । एमाओवादी अध्यक्ष दाहाल, पूर्वउपाध्यक्षद्वय भट्टराई र श्रेष्ठलगायत प्रायजसो सबै उच्च नेताको उपस्थितिमा एमाओवादीले मतगणना जारी रहेकै बेला बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर मतगणना रोकेर समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानबिन गर्न माग गरेको थियो । तत्कालै एमाओवादीले बिहीबार राति नै देशभरिकै मतगणनास्थलमा रहेका आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएको थियो ।
संविधानसभा निर्वाचनमा एमाओवादीले अपेक्षा गरेभन्दा उल्टो नतिजा आएलगत्तै केन्द्रीय कार्यालय, पूर्वपोलिटब्युरो र राज्य संयोजकहरूको बैठक राजधानीमा बोलाएको थियो । शनिबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा बोल्ने विभिन्न नेताहरूको बीचमा पनि मत बाझिएको छ । उनीहरू बीच संविधानसभामा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद देखिएको छ । अधिकांश सहभागीले निर्वाचन प्रक्रियामा धाँधली र षड्यन्त्र भएको बताए पनि संविधानसभामा सहभागी हुनु पर्ने सुझाव दिएका थिए । उनीहरूले संविधानसभामा नजाँदा जनमतको अपमान गरेको र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएको ठहरिने भन्दै अध्यक्षले अडान सच्याउनुपर्ने धारणा राखेका थिए ।
बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले अहिलेसम्म बोल्नेहरूले धाँधली र षड्यन्त्रको ट्रेन्डहरू एकै तर रूपहरू फरक–फरक आएको जानकारी दिए । उनले संविधानसभा निर्वाचनमा भयानक ठूलो षड्यन्त्र र धाँधली भएको आफूहरूले थाहा पाए पनि जनताको तागतको अघि उनीहरूको केही लाग्दैन भन्ने ठानेको जनाए । मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुग्दाको सयममा षड्यन्त्र भएको उनको भनाइ थियो ।
एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले बैठकमा देशैभर चुनावी प्रक्रियाको छानबिन गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले संविधानसभा बहिष्कार गर्न नहुने विषयमा पार्टीको केन्द्रीय समितिले टुंगो लगाउनु पर्ने राय व्यक्त गरको बताएका छन् । एमाओवादी केन्द्रीय समितिको बैठक सोमबारबाट सुरु हुनेछ ।

प्रतिक्रिया