काठमाडौं, ९ मंसिर । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको एमाओवादी यसपटकको संविधानसभामा तेस्रो दलमा सीमित भयो । काठमाडौं–१० बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पराजित भएपछि चुनावी परिणाम सो पार्टीका लागि थप कहालीलाग्दो बन्दै गयो ।
एमाओवादीका केही प्रभावशाली नेताले पकड जमाए भने केही नेता हार व्यहोर्न बाध्य भए । यसअघिको निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २० सिटमा कब्जा जमाएको एमाओवादीले अहिलेसम्मको मत परिणाममा २५ स्थानभन्दा माथि उक्लन सकेको छैन । काठमाडौं–१० बाट पराजित भए पनि एमाओवादी अध्यक्ष दाहाल सिरहा–५ बाट विजयी भएपछि उनको दलका नेता र कार्यकर्तामा केही ऊर्जा थपिएको अनुमान गरिएको छ । अध्यक्ष दाहालले सप्तरी–५ बाट १५ हजार २ सय ४४ मत ल्याएर विजयी भए । एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई यसपटकको निर्वाचनमा पनि गोरखा–१ बाट भारी मत ल्याएर विजयी भए । तर, रूपन्देही–४ मा डा. भट्टराईलाई एमालेका विष्णु पौडेलले जित्न दिएनन् । एमाओवादीको उद्गमस्थल मानिएको रोल्पा र रुकुममा भने यसपटक पनि उनीहरूकै कब्जा रह्यो । रोल्पा–२ बाट ओनसरी घर्ती र क्षेत्र नम्बर १ बाट कृष्णबहादुर महराले जित दर्ता गराए । यता, रुकुममा गणेशमान पुन र जनार्दन शर्मा पौडेल विजयी भए । एमाओवादीका अर्का प्रभावशाली नेता गिरिराजमणि पोखरेलले यसपटक पनि जिते । एमाओवादीका अर्का नेता हरिबोल गजुरेलले यसपटक पनि विजयको माला पहिरन सफल भए । उनले सिन्धुली–१ बाट जित हात पारे । गजुरेलले १२ हजार ७ सय ७० मत प्राप्त गरे । एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक–२ बाट विजयी भए । यस्तै एमाओवादीका अर्का नेता शक्तिबहादुर बस्नेत जाजरकोट–१ बाट छानिए । उनले ८ हजार ७३ मत ल्याई विजयी भए । त्यस्तै, टोपबहादुर रायामाझी पनि जित्न सफल भए । तर, यसपटकको निर्वाचनमा एमाओवादीका प्रभावशाली र शक्तिशाली मानिएका केही नेता पराजित भए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता लीलामणि पोखरेल, अमिक शेरचन, नवराज सुवेदीलगायत नेता पराजित भए ।
एमाओवादीका महासचिव पोष्टबहादुर बोगटी, वर्षमान पुन, पूर्वसैन्य कमान्डर नन्दकिशोर पुन, देवेन्द्र पौडेल, शालिकराम जमरकट्टेल, लेखराज भट्ट, गोपाल किरातीलगायतले पराजित भए ।
गत वर्ष मात्रै एमाले छाडेर एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा र उर्मिला अर्याललगायत केही नेता पनि पराजित भए । तर, एमाओवादीका शम्भु श्रेष्ठ भने यसपटक पनि रोचक जित हात पार्दै चर्चाको शिखरमा रहे । उनले एमाले अध्यक्ष झलनाथ खनाललाई पराजित गरे । श्रेष्ठले नौ हजार ४७६ मत प्राप्त गरे । मधेसका युवा नेता शिवकुमार मण्डल पनि मोरङ–४ बाट विजयी भए ।
प्रतिक्रिया