सडक निर्माणलाई तिव्रता दिन निर्देशन

काठमाडौं, ८ मंसिर । काठमाडौंका विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिको शुक्रबार बसेको वैठकले सडक निर्माणको कामलाई तिव्रता दिन निर्देशदिएको छ ।

प्रधानमन्त्री कार्यालयले तोकिदिएको लक्ष्य अनुसार मंसिर मसान्तसम्ममा सडक विभागवाट १३.२ किलोमिटर, काठमाडौं महानगरपालिकावाट आठ सय मिटर तथा वागमती सभ्यता एकीकृत विकास समितिवाट २ किलोमिटर गरी १६ किलोमिटर थप सडक कालोपत्रे हुने जनाएको छ । साथै, यस अवधिमा ११ किलोमिटर सववेस निर्माण गर्ने २१.५ किलोमिटर वेस निर्माण गर्ने, ३ किलोमिटर टेवा पर्खाल निर्माण गर्ने, ९किलोमिटर नाली र ५ किलोमिटर फुटपाथ निर्माण गर्ने गरी लक्ष्य तोकिएको छ । शुक्रबार बसेको समीक्षा वैठकले तोकिएको लक्ष्य अनुसार काम सम्पन्न हुने संकेत देखाएको विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिको संयोजक एवं प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटाले बताए ।
सडक विस्तारमा देखिएका समस्याहरुलाई संवोधन गर्ने क्रममा लैनचौर खण्डमा अण्डरग्राउण्ड विद्युत केवलिङ्गको कामले कालोपत्रे गर्ने काम रोकिएकोमा सचिव वास्कोटाले उर्जा मन्त्रालयलाई समस्याको सिघ्र निकासका लागि निर्देश दिएका छन् । यसैगरी एभरेष्ट होटलदेखि तीनकुने खण्डमा काम नभएकोमा निर्माण व्यवसायीलाई चेतावनी दिई काम लगाउन सचिव वास्कोटाले निर्देश दिए । साथै, शंखमुल सडकको मोडमा सडक विस्तारमा वाधा परेको, ललितपरमा घर–टहरा भत्काउन वजेटको अभाव रहेको, केयूकेएलको वजेट स्वीकृति प्रक्रिया जटिल भएको लगायतका विषयमा तत् मन्त्रालयले तुरुन्त समस्या समाधान गर्न सचिव वास्कोटाले आग्रह गरे । तापक्रम घटेर कालोपत्रे गर्न नमिल्ने ठण्डी आउनु पूर्व नै अधिकतम् सडकको कालोपत्रे काम सम्पन्न गर्न आग्रह गर्दै सचिव वास्कोटाले जनतालाई धुवा र धुलोवाट वचाउन आग्रह गरेका छन् । कालोपत्रे सम्पन्न भएका सडकमा व्यवस्थित ट्राफिक लाईट राख्न, काठमाडौंको व्यूटिफिकेशनमा जोड दिन, गुणस्तरीय निर्माण गर्न र अनाधिकृत होडिङ्ग वोर्ड हटाउन पनि उनले निर्देश समेत गरेका छन् ।
वैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले जाडो पूर्व नै अधिकांश सडक निर्माणको काम सकिने कुरा वताए । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले वाग्मती ढल निर्माण, खानेपानी व्यवस्थापन र थप सडक विस्तार गर्ने काममा आफ्नो मन्त्रालय लागी परेको कुरा वताए । सूचना तथा संचार सचिव ध्रुव शर्माले टेलिकमले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जानकारी दिए । यसैगरी उर्जा सचिव विश्व प्रकाश पण्डितले पनि विद्युतको काम तोकिएकै समयमा सम्पन्न गरिने धारणा राखे । वैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख, काठमाडौं महानगरपालिकाका प्रमुख, सडक विभागका महानिर्देशक र क्षेत्रीय प्रमुख, काठमाडौं उपत्यका भित्रका सबै डिभिजन सडकका प्रमुखहरु, जिल्ला आयुक्तहरु, नगरपालिकाका कार्यकारी प्रमुखहरु, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
सडक निर्माणमा लागि मंसिर मसान्तसम्मका लागि तोकिएको लक्ष्यमा पुग्नेगरी काम भैरहेको कुरा सम्बन्धित निकायले वताएको छ । साथै, उनले मंसिर महिनामा स्थलगत निरीक्षण नै गरिने कुरा समेत बताए ।

प्रतिक्रिया