समानुपातिकको मतगणना सुरु

काठमाडौं, ८ मंसिर । दोस्रो संविधानसभा चुनावको समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतको मतगणना सकिएका चुनाव क्षेत्रहरूमा समानुपातिकतर्फको गणना सुरु भएको हो ।

संविधानसभाको ६ सय १ सदस्यमध्ये समानुपातिक प्रणालीबाट ३ सय ३५ र प्रत्यक्षबाट २४० निर्वाचित हुनेछन् । समानुपातिकमा सम्पूर्ण मुलुकलाई एक चुनाव क्षेत्र मानी राजनीतिक दललाई मत दिने व्यवस्था छ । राजनीतिक दलहरूले प्राप्त गरेको मतको अनुपातमा सिट वितरण गरिन्छ । समानुपातिकतर्फत १ सय २२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् ।
एक क्षेत्र मात्र भएको मनाङमा समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । कुल मतदाता ४ हजार ७ सय ९५ रहेको उक्त जिल्लामा मा ४ हजार १ सय ९२ मत खसेकोमा ४ हजार १ सय ४४ सदर भएको छ । जसमा कांग्रेसले १ हजार ५ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५ सय ३५, एमाओवादीले ५ सय ३२ र एमालेले १ सय ८८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धा गरेका ५५ दलमध्ये अन्य ५० दलले १ मतदेखि ४५ मतसम्म प्राप्त गरेको आयोगले जनाएको छ ।
यसैगरी, तनहुाका तीनवटै क्षेत्र, कास्कीका ४ वटै क्षेत्र, धादिङका ३ वटै क्षेत्र, धनकुटाका दुवै क्षेत्रमा पनि मतगणना जारी छ । दाङका चारवटै र पाल्पाको क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फको् मतगणना सुरु भएको आयोगले जनाएको छ । यस्तै डडेलधुरा, प्युठान, पर्वतमा पनि समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।
काठमाडौंको गणना आजदेखि
पाल्पाको १, ३ र काठमाडौंका १० वटै क्षेत्रको समानुपातिकतर्फको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले समानुपातिकको मतगणना कार्य शनिबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जानकारी दिए । काठमाडौा जिल्लामा पहिलो हुने निर्वाचित हुने प्रणालीको मतगणना सकिएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक प्रणालीको गणना सुरु गर्न लागेको हो ।
जुम्लामा मतदान
४ मंसिरमा स्थगन भएको जुम्लाको देपाल गाविस झारज्वाला मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण र स्वतन्त्र रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उक्त केन्द्रमा मतपत्र र मतपेटिकासहितका चुनावी सामग्री लुटिएका कारण गत मंगलबार मतदान स्थगन गरिएको थियो ।
सप्तरी–२ को मतदान आज
सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत बर्साइन गाविसको राजाजी राष्ट्रिय प्रा.वि., बनरझुला (क) मतदान केन्द्रको पुन: मतदान आज शनिवार हुने भएको छ । उक्त केन्द्रमा मंगलबार भएको चुनावमा मतदाता संख्याभन्दा अधिक मतदान भएको पाइएपछि उक्त केन्द्रको मतदान रद्द गरिएको थियो । ४ मंसिरमा देशका २ सय ४० क्षेत्रमा भएको चुनावमध्ये जुम्ला र सप्तरीको एक/एक मतदान केन्द्रमा मात्र पुन: मतदान गर्नुपरेको हो ।

प्रतिक्रिया