दार्चुलामा ८० प्रतिशत मतदान

दार्चुला, ६ मङ्सिर । एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा ८० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । यो, जिल्लाको अहिलेसम्मकै बढी मत प्रतिशत हो ।

गत संविधानसभा निर्वाचनमा यस जिल्लामा ६४.५६ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जिल्लाभरि करिब ८० प्रतिशत मत खसेको बताए । उनले यसपालिको निर्वाचनमा जनतामा उत्साह पनि धेरै देखिएको जनाए ।
हालसम्म जिल्लाका ४७ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम खलङ्गामा ल्याइसकेको र हिमाली क्षेत्रमा रहेका घुसा, खण्डेश्वरी, राप्ला, सुनसेरा, गुल्जर, सितौला र विकट गाविस गरी ८२ वटा मतदान केन्द्रका मतमेटिका बुधबार बेलुकीसम्म जिल्लामा ल्याइने बताइएको छ । हिमाली क्षेत्रका १२ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत बेलुकीसम्म सदरमुकाम ल्याइपुर्‍याइने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत पनेरुले सबै मतपेटिका आएपछि बेलुकीबाट मतगणना हुने जानकारी गराएका छन् ।

प्रतिक्रिया