म्याग्दी, ६ मंसिर । संविधानसभाको निर्वाचनमा म्याग्दीको दग्नामको जनता मावि मतदान केन्द्रमा सत प्रतिशत मत खसेको जनाइएको छ ।
दग्नाम गाविसको वडा नं– १ देखि ६ सम्मका ४०८ मतदातामध्ये ४०८ ले नै मतदान गरेको मतदान अधिकृत प्रेमलाल मल्लले जानकारी दिए ।
म्याग्दीको जनता मावि मतदान केन्दमा सत प्रतिशत मतदान हुने एकमात्र केन्द्र बनेको छ भने नेकपा–एमाले म्याग्दीले भने जनता मावि मतदान केन्द्रमा धाँधली भएको आरोप लगाएको छ ।
मृत्यु भएकी दग्नाम–५ की मतदाता क्रमसङ्ख्या नं ५४ की रुबिसरा गर्बुजा र विदेश रहेका आफ्ना कार्यकर्ता दग्नाम–४ का मतदाता क्रमसङ्ख्या नं ४ का कृष्णबहादुर पुनको मतसमेत परेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । त्यसैले उनले उक्त केन्द्रमा धाँधली भएको ठोकुवा गरे ।
म्याग्दीमा ५६ हजार ५५९ जना मतदाता रहेकोमा ४३ हजार ३०० अर्थात् ७४.२६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले
जनाएको छ ।
सुगम ठाउँका मतदान केन्द्रका मतपेटिका बुधबार बिहानसम्म सदरमुकाम ल्याइसकेको छ । गुर्जा, मुना, मुदी, लुलाङ, कुइनेमंगलेलगायत दुर्गम गाविसका मतदान केन्द्रको मतपेटिका भने बुधबार साँझसम्म आइपुग्ने र त्यसपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी
गराएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४१ गाविसमा रहेका ४ वटा अस्थायीसहित १०१ मतदान केन्द्र रहेका थिए ।
प्रतिक्रिया