राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सर्लाही क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका किशोर बहादुर कार्की पनि चर्चामा रहेका उम्मेदवार हुन् ।
नेपाली खेल क्षेत्रमा विगत लामो समय देखी आबद्ध कार्कीको उम्मेदवारी सवै दलका उम्मेदवारका लागी कडा चुनौती बनेको स्थानिय मतदाता बताउछन् । सर्लाही क्षेत्र नम्वर २ मा विशेष गरी पहाडी र मधेशी समुदायको मिश्रण छ । पहाडे र मधेशी दुवै समुदायमा राम्रो पकड बनाउन सक्ने उम्मेदवारले मात्रै सो क्षेत्रमा बाजी मार्न सक्छ । पहिलो संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट एमालेका रिजवान अन्सारीले जीत हासिल गरेका थिए । यो पटक एमालले सो क्षेत्रमा सुरेन्द्र लामालाई मैदानमा उतारेको छ । एमाओवादीको तर्फबाट राजकुमार राय यादव मैदानमा छन् । नेपाली काग्रेसले सो क्षेत्रमा ध्रुव बुढाथोकीलाई मैदानमा उतारेको छ ।
सो क्षेत्रमा चुरे भावर राष्ट्रिय एकता पार्टीको पनि प्रभाव छ । यस अघिको संविधान सभा निर्वाचनमा चुरे भावरको पक्षमा जनलहर देखिएको थियो । तर चुरे भावर विभाजन भएदेखी उनीहरुको प्रभाव केही कम देखिन्छ । सो क्षेत्रमा कार्की सहित ४२ जना उम्मेदवार संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फ चुनावी मैदानमा छन् । यस अघिको निर्वाचनमा पनि कार्की राष्ट्रिय जनशक्ति पार्टीको तर्फबाट उम्मेदवार थिए । राप्रपा एकिकरण भएका कारण र सो क्षेत्रमा चुरे भावर पनि विभाजित भएका कारण यस पटकको निर्वाचनमा आफुलाई फाइदा पुग्ने दावी कार्कीको छ । मधेशी समुदायले पनि आफुलाई रुचाउने भएका कारण आफनो जीत हुनेमा कार्की आशावादी छन् । किशोर बहादुर कार्की उम्मेदवार भएको सर्लाही राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्य बहादुर थापा विगतमा निर्वाचन लडेको क्षेत्र पनि हो । सो क्षेत्रबाट थापाले विगतमा जीत हासिल गरिसकेका छन् । त्यसैले पनि सो क्षेत्रका जनताले हलो चिन्हमा मतदान गर्ने अपेक्षा कार्कीको छ । राप्रपा उम्मेदवार कार्कीको निर्वाचन अभियानलाई अध्यक्ष थापाले पनि विशेष सहयोग गरिरहेका छन् ।
आफु सर्लाहीमा नै हुर्केको, अनि सर्लाहीमा नै अध्ययन गरेको स्थानिय उम्मेदवार भएकाले जनताले आफुलाई विश्वास गर्ने कार्कीको भनाई छ । राप्रपा उम्मेदवार कार्की नेपाल सुटिङ स्पोटर्स संघका अध्यक्ष पनि हुन् । कार्की विगतमा राष्ट्रिय खेलकुद परिषदको सदस्य तथा निमित्त सदस्य सचिव पनि भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषदमा रहदा कार्कीले खेल क्षेत्रका विकृती र विसंगती विरुद्ध आवाज उठाएका थिए । खेल क्षेत्रमा राजनीति हुनु हुदैन भन्दै खेल र खेलाडीको पक्षमा बोल्ने बानीले आफुलाई खेल क्षेत्रले रुचाएको कार्कीको दावी छ । खेल क्षेत्रमा काम गर्न सक्ने ब्यक्तिका रुपमा आफु स्थापित भएकाले अव नेपाल बनाउने र संविधान लेखको प्रकृयामा सक्रिय हुनका लागी युवा शक्तिका रुपमा जनताले आफुलाई पत्याउने कार्कीको भनाई छ । जनताको प्रतिनिधि बनेर काम गर्ने, सभासदको भुमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता सहित कार्की अहिले दैनिक जनताको घर दैलोमा भोट मागिरहेका छन् । कार्कीले आफनो घोषणा पत्रमा संविधान लेखनको प्रकृयालाई मात्र होइन विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । जनप्रतिनिधि भइसकेपछि जनताको काम गर्नुपर्ने धारणा कार्कीको छ ।
आफुलाई ठुला भन्ने दलले जनतालाई धोका दिएकाले यस पटकको निर्वाचनमा अप्रत्यासित नतिजा आउने दावी राप्रपा उम्मेदवार कार्कीको छ । त्यसैले सर्लाही क्षेत्र नम्वर २ का मतदाताले हलो चिन्हम मतदान गर्ने तयारीमा रहेको कार्कीको दावी छ ।
प्रतिक्रिया