कैलालीमा धान उत्पादन बढ्ने

Dhanकैलाली : जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन झन्डै १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्षभन्दा अनुकूल मौसम भएकाले धान उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
यस वर्ष समयमै पानी परेकाले किसानले कलिलै बेर्ना रोप्न पाउनु, प्राकृतिक प्रकोप र रोगकिरा जस्ता समस्या नदेखिनुले वर्षे धानको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । यस वर्ष बाढी र प्राकृतिक प्रकोपले दुईदेखि तीन प्रतिशत बालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६९/७० मा वर्षे धानको उत्पादन ११ प्रतिशतले घटेको थियो । सोही आवमा एक हजार छ सय ९४ हेक्टर धानबाली बाढीले क्षति भएको थियो । गत वर्ष जिल्लाभर ७१ हजार दुई सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो । त्यसबाट दुई लाख चार हजार सात सय ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्ष ०६८/६९ मा पनि ७१ हजार दुई ५० हेक्टर जमिनमा नै खेती गरिए पनि उत्पादन दुई लाख ३१ हजार सात सय ५० मेट्रिक टन भएको थियो । यो वर्ष जिल्लामा ७० हजार ५०० हेक्टर जमिनमा मात्र धानखेती गरिएको छ । (सौस)

प्रतिक्रिया