हिंसात्मक कार्य र आक्रमणबाट सरकार क्रुद्ध

simhadarbarकाठमाडौं, २८ कात्तिक । सरकारले सर्वसाधारणलाई लक्षित गरेर निहत्था व्यक्तिको ज्यान लिने प्रयत्नको संज्ञा दिँदै क्रुर र अमानवीय हिंसात्मक गतिविधिको भत्सर्ना गरेको छ ।

सरकारले आज (बिहीबार) विज्ञप्ति जारी गरेर हिंसात्मक घटनामा संलग्न जोकोहीलाई कानून वमोजिम कडा कारबाही गर्ने दृढता जनाएको छ ।

‘मुलुकका केही भागमा सार्वजनिक सभा समारोहमा सर्वसाधारण जनतालाई लक्षित गरी विष्फोट गराउने, सार्वजनिक सवारी साधनमा सर्वसाधारण यात्रुलाई लक्षित गरी पेट्रोल वम प्रहार गर्ने र सडक, सार्वजनिक स्थलमा विष्फोटन गराई निहत्था व्यक्तिको ज्यान लिने प्रयत्न गर्ने जस्ता क्रुर र अमानवीय हिंसात्मक घटनाको नेपाल सरकार घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमाभनिएको छ । सरकारले त्यस्ता अपराधमा संलग्न जोकोहीलाई पनि कानून वमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

सरकारले मुलुक निर्वाचनमय भएको र मतदानको संघारमा पुगेको यस महत्वपूर्ण घडीमा आफ्ना निर्वाचन सम्बन्धी क्रियाकलापहरू संयमतार्पूवक सञ्चालन गर्न आग्रह गरेको छ । ‘सबै नागरिकले निर्वाधरुपमा मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नमा सम्पूर्ण राजनीतिक दलहरू, सञ्चारकर्मी, उद्योगी व्यवसायी, पेशागत संघसंस्था, मानव अधिकारकर्मी, नागरिक समाज तथा आमनागरिकले हालसम्म खेलेको भूमिकाको लागि हार्दिक धन्यवाद दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा निर्वाचनलाई निर्विघ्नतापूर्वक सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट थप क्रियाशीलता र योगदानका लागि समेत सरकार आह्वान गरेको छ ।

नागरिक जीवनलाई थप कष्टकर बनाउने र निर्वाचन विथोल्ने मनसायले गरिएका बन्द हडताल जस्ता क्रियाकलापको डटेर विरोध गर्ने र अवज्ञा गर्ने निर्णय गर्न पनि सरकारले आग्रह गरेको छ ।

मुलुकका विभिन्न स्थानमा पेट्रोल वम प्रहार हुनुका साथै सर्वसाधारण माथि आक्रमण हुन थाले पछि सरकारले कडा चेतावनी सहित हिंसात्मक कार्य रोक्न भनेको हो ।

प्रतिक्रिया