‘नेवा: राज्यको स्थापना गर्न ‘म’ रोकिँदैन’

Puspakamal-Dahal-Tiharकाठमाडौं, २८ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेवार समुदायको उत्थान र जातीय पहिचानको मुद्दा आफूहरुको रहेको दोहर्‍याएका छन् ।

काठमाडौंमा आज (बिहीबार) आयोजित चुनावी कार्यक्रममा अध्यक्ष दाहालले नेवारहरुको उत्थान र जातीय पहिचानका लागि एमाओवादीले धेरै योगदान गरेको बताए ।

‘नेवार समुदायको उत्थान र जातीय पहिचानको मुद्दा हाम्रो हो,’ उनले भने, ‘नेवा: राज्यको स्थापना गर्न म रोकिँदैन ।’

कांग्रेस, एमालेसहितका विभिन्न दलहरुले एकलजातीय पहिचानको विरोध गरिरहेका बेला एमाओवादी अध्यक्ष दाहालले पुन: एकल जातीय राज्यको विषय उठाएका छन् । कांग्रेस र एमालेले बहुपहिचानसहितको संघीय राज्यको कुरा गर्दै आएका छन् ।

उनले जनपक्षीय नयाँ संविधानका लागि कुनै एक पार्टीको बहुमत आवश्यक रहेको बताए । ‘एक पार्टीको बहुमत अनिवार्य छ,’ दाहालले भने, ‘जनपक्षीय नयाँ संविधानका लागि एमाओवादीको दुई तिहाई बहुमत आउनु पर्छ ।’

त्यसै गरी अध्यक्ष दाहालले संविधानसभा सदस्यको चुनावमा एमाओवादीको बहुमत आउने दोहर्‍याए । उनले एमाओवादीको बहुमत आउनेमा आफू विश्वस्त रहेको बताए ।

‘आगामी निर्वाचन कसैले चाहँदैमा रोकिँदैन,’ उनले भने, ‘चुनावमा प्रतक्षतर्फ एमाओवादीको दुई तिहाई बहुमत आउँछ ।’ प्रत्यक्षमा दुई तिहाई बहुमत आउने बताएका अध्यक्ष दाहालले समानुपातिकमा पनि उत्तिकै राम्रो मत आउने बताए ।

प्रतिक्रिया