दोलखा, २८ कात्तिक । दोलखाको मैनापोखरीमा मंगलबार देखी भएको झडप बुधबार बिहानबाट शान्त भएको छ ।
कांग्रेस र एमाले कार्यकर्ता बिच मंगलबार साँझ देखी भएको झडप बुधबार बिहान जिल्ला स्तरिय नेता र स्थानिय कार्यकर्ता बिच सहमती कायम भएपछि मैनापोखरीबजार बुधबार बिहानबाट शान्त भएको हो ।
दुई दलका नेता कार्यकर्ता बिच मैनापोखरी बजारमा सहमती कायम गरे अनुसार संविधानसभा निर्वाचनको क्रममा जिल्लाभर हिंसा, द्धन्द र झैझगडा नगर्ने सहमती भएको हो । रात भर भएको झडपमा दुवै दलका सवारी साधनहरु तोडफोड हुनुको साथै सुरक्षाकर्मीलगायत दलका कार्यकर्ता र सर्वसाधरण घाइते भएका छन् ।
बुधबार विहानसम्म झगडा चर्कदै गएपछि नागरिक समाजका अगुवा र पत्रकारहरुको रोहबरमा दलहरुले काव्रेको मैनापोखरीमा भएको दुखद् घटनामा आफ्नो गल्ती कमजोरी भएको समीक्षा गरेका थिए । उनीहरुले बॉकी दिनमा कुनै पनि ठॉउमा हिंसा, द्धन्द र झैझगडा नगर्ने समझदारी गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । दुवैको सहमती पछि जारी विज्ञप्तीमा मुलुकमा शान्ति, स्थायित्व र गणतन्त्रको संस्थागत झण्डा फहराउने प्रमुख दायित्व पनि एमाले र कांग्रेस जस्ता लोकतान्त्रिक शक्तिहरुको भएको बताइएको छ ।
आगामी दिनमा दुवै पार्टीले स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण र भयरहीत निर्वाचन सम्पन्न गराउनका लागि साझा प्रतिबद्धता समेत गरिएको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । काब्रेमा भएको यो सहमती मुलुकभर कायम हुनुपर्ने जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार च्यामा गाविसमा भएको एमाले गाउ‘सभा सकेर फर्किएका कार्यकर्ता र काव्रेमा भेटघाट सकेर बसेका कांग्रेस कार्यकर्ताहरुबीच एक अर्काको बिरुद्ध नारा लगाएको बिषयमा विवाद भएपछि झडप भएको थियो ।
प्रतिक्रिया