काठमाडौं, २७ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले संविधानसभा सदस्यको निर्वाचनमा थुप्रै अवरोधहरु आएको भन्दै चिन्ता जनाएको छ । आयोगले आचार संहिता उल्लंघन भएकोमा पनि चिन्ता जनाएको छ ।
आयोगले आज (बुधबार) विज्ञप्ति जारी गरेर आफ्नो प्रारम्भीक तथ्यहरुले नागरिकले निर्भयतापूर्वक निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने कुरामा थुप्रै अवरोधको सामना गर्नु परिरहेको जनाएको छ ।
‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न्न हुने कुराको सुनिश्चितताका लागि प्राप्त प्रारम्भीक तथ्यहरूले नागरिकले निर्भयतापूर्वक निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने कुरामा थुप्रै अवरोधको सामना गर्नु परिरहेको देखिएको छ,’ आयोगले भनेको छ ।
आयोगले निर्वाचन प्रक्रियामा सामेल राजनीतिक दलहरूबीच भएका हिंसात्मक गतिविधि एवम् निर्वाचन बहिष्कार गर्ने दलहरूको क्रियाकलाप मूख्य बाधक र कारक रहेको जनाएको छ ।
‘देशमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रमुख दायित्व नेपाल सरकारको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा सहयोग गर्नु सबै राजनीतिक दल एवम् सम्बद्ध सबै पक्षको दायित्व पनि हो ।’
आफूले रोजेको व्यक्ति वा दललाई मतदान गर्ने वा इच्छा नलागे कसैलाई मतदान नै नगर्ने हरेक व्यक्तिको स्वतन्त्रताको अधिकार रहेको भन्दै आयोगले अधिकारको उपभोग गर्न पाउने वातावरण तयार गर्नु पर्ने जनाएको छ ।
आयोगले वार्ता र सम्वादको वातावरण सृजना गरी संविधानसभामा सबै पक्षको सहभागितालाई प्रश्रय दिन आग्रह पनि गरेको छ । ‘राजनीतिक दलहरूबीच बढ्दै गएको हिंसात्मक र ध्वंसात्मक गतिविधि, आरोप–प्रत्यारोपका श्रृंखलाहरू तथा निषेधको राजनीतिको अन्त्य गरी सहमति एवम् सहयात्राको मार्ग पहिल्याउन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरी आयोगले शान्ति सुरक्षालाई मजबुत बनाई आपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन पनि दिएको छ । उसले निर्वाचन आचारसंहिता उल्लङ्घनकर्ताहरूलाई कारवाहीको दायरामा ल्याउन पनि आयोगसँग आग्रह गरेको छ ।
प्रतिक्रिया