सहुलियत पसलको समय थप

काठमाडौं, २७ कात्तिक । सरकारले तिहार र छठ पर्वमा हुने कालोबजारी नियन्त्रण गर्न संचालन गरेको एकीकृत सहुलियत दरको सुपथ मूल्य पसल निर्वाचनलाई लक्षित गरी १ मङ्सिर सम्म सञ्चालन गरिने भएको छ ।

उपत्यकाका रामशाहपथ, सूर्यविनायक, कोटेश्वर, कालीमाटी, टेकु, बल्खु तथा बनेपालगायतका आठवटा स्थानमा सञ्चालन गरिएको सो पसलहरू निर्वाचनको अवधिसम्म सञ्चालन गरिने भएको छ । सो अवधिमा नुन, चिनी, तेल, चामललगायत खाद्य सामग्रीको कृत्रिम अभाव हुन नदिने उद्देश्यले १ गतेसम्म सञ्चालन गरिने वाणिज्य तथा आपूर्ति मन्त्रालयसाग समन्वय गरिने एकीकृत सहुलियत दरको सुपथ मूल्य पसल रामशाहपथका स्टल प्रमुख सृजन रेग्मीले जानकारी दिए ।
निर्वाचनका लागि भन्दै सरकारले २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिएका कारण १ गतेपछि सञ्चालन गर्ने वा नगर्नेबारे वाणिज्य तथा आपूर्ति मन्त्रालयसाग समन्वय गरिने रेग्मीले बताए । १ असोजदेखि २९ कात्तिक सम्मका लागि मात्र भनेर सञ्चालन गरिएको सहुलियत पसल उपभोक्ताको मागलाई ध्यानमा राखेर समय थप गरिएको हो ।
नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थानलगायतका संस्था सहभागी सहुलियत पसलमा हरेक सामान हेरीकन तीन देखि एक सय ५० रुपिँया सम्म छुट दिदै आएको छ । रामशाहपथमा मात्र अहिलेसम्म एक करोड ५० लाखको बिक्री गरिएको र चिनी, नुुन, तेल, चामल लगायतका खाद्य वस्तुहरूको सबैभन्दा बढी बिक्री भैसकेको छ ।

प्रतिक्रिया