विश्वनीय चुनाव गराउन आयोग दृढ

Elecatation Commisationकाठमाडौं, २६ कात्तिक । निर्वाचन आयोगले मतदाताको अधिकार रक्षा गर्न र तोकिएकै समय ४ मंसिरमा स्वच्छ, स्वतन्त्र र विश्वसनीय चुनाव सम्पन्न गराउन दृढ रहेको जनाएको छ ।

आयोगले सोमबार नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको आमहडतालका क्रममा भएका तोडफोड, आगजनी र विस्फोटका घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो जनाएको हो । ‘१ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता आºनो मताधिकार प्रयोग गर्न आतुर छन्,’ आयोगका प्रवक्ता वीरबहादुर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा आफूले रोजेको उम्मेदवार र दललाई मतदान गर्न पाउने सार्वभौम अधिकारको रक्षा सबै लोकतन्त्रवादीबाट हुनेछ भन्नेमा आयोग विश्वस्त छ ।’
राजनीतिक दल, उम्मेदवार र मतदाताप्रति लक्षित गरी कतिपय ठाउँमा आगजनी भएकोप्रति पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘निर्वाचन आयोग ४ मंसिरमा हुने संविधानसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सञ्चालनको महत्वपूर्ण समयमा बन्द, हड्ताल र मतदातालाई असर पर्ने कुनै पनि कार्यक्रम सञ्चालन नगर्न/नगराउन सम्बद्ध सबै पक्षसँग निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ ।’
आयोगले विज्ञप्तिमा राजनीतिक दल, उम्मेदवार र मतदाता सबैलाई निर्वाचन सफल बनाउन जागरुक भई देशव्यापी रूपमा चुनावी माहौल सिर्जना गर्न आग्रह गरेको छ । ‘नागरिकको मत व्यक्त गर्ने वैधानिक आधार निर्वाचन हो, लोकतन्त्रमा शान्तिपूर्ण तवरबाट असहमति व्यक्त गर्ने अधिकार सबै नेपालीलाई छ तर अरूको अधिकार हनन हुने गरी अवरोध गर्न पाइँदैन,’ ३३ दलीय मोर्चालाई इंगित गरी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया