फिलिपिन्सको आँधीमा सय नेपाली परेको अनुमान

काठमाडौं, २६ कात्तिक । फिलिपिन्सस्थित गैरआवासीय नेपाली संघले समुद्री आँधीबाट एक सय नेपाली प्रभावित भएको अनुमान गरेको छ ।

शुक्रबार गएको समुद्री आँधीबाट १० हजारभन्दा बढीले ज्यान गुमाएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिइरहेका बेला संघले सय नेपाली प्रभावित भएको हुन सक्ने जनाएको हो । संघका अनुसार उक्त मुलुकमा झन्डै एक हजार नेपाली उच्च शिक्षा, व्यवसाय, व्यापार र अन्तर्राष्ट्रिय सेवाको सिलसिलामा बसोबास गर्दै आएका छन् ।
नेपाल सरकार भने आँधी आएको चार दिन बितिसक्दा पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे बेखबर छ । रोजगारी या अन्य सिलसिलामा त्यहाँ पुगेका नेपाली कस्तो अवस्थामा छन् भन्ने आधिकारिक जानकारी पाउन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आँधीबाट प्रभावित क्षेत्रमा सञ्चार–सम्पर्क विच्छेद भएकाले यकिन विवरण प्राप्त भइनसकेको परराष्ट्रका अधिकारीको भनाइ छ । चार दिनसम्म कुनै आधिकारिक सूचना नपाएपछि फिलिपिन्सका अधिकारीहरूसँगको समन्वयमा सम्पर्क स्थापनाको प्रयास सरकारले जारी राखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया