काठमाडौं, २५ कात्तिक । सरकारले आर्थिक वर्ष २०७०/७१ आसोज महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।
राजस्व संकलनको स्थितिका वारेमा आज (सोमबार) सिंहदरबारमा भएको समीक्षा बैठकमा असोज महिनामा एक सय १२ दशमलव ६२ प्रतिशत बढी राजश्व संकलन भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्रालयले असोज महिनामा २४ अर्ब ४ करोड राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । यद्यपि, असोज महिनामा २७ अर्ब ७ करोड राजस्व संकलन भई लक्ष्यको तुलनामा १ सय १२ दशमलव ६२ प्रतिशत प्रगति हॉसिल भएको विज्ञप्तिमा जनाईएको छ ।
कुल राजस्व संकलन मध्ये कर राजस्व वापत २१ अर्व ९२ लाख, गैर करतर्फ ६ अर्व ६० करोड ९२ लाख संकलन भएको छ ।
आर्थिक वर्ष २०६९/७० असोज महिनामा २० अर्ब ५० करोड राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०७०/७१ आश्विन २७ अर्ब ७ करोड संकलन भई अघिल्लो वर्षको तुलनामा १ सय ३२ प्रतिशत वृद्धि भएको छ ।
कुल राजस्व संकलनमा शीर्षकगत राजस्व संकलनको २०७० असोज महिनासम्मको संयोजनमा गत बर्षको सोही अवधिको भन्दा केही फेरबदल भएको छ । विगतमा भन्सार महसुलको योगदान अन्य राजस्वको योगदानभन्दा अधिक रहने भएता पनि केही वर्षदेखि मूल्य अभिवृद्धि कर र आयकरको योगदान क्रमश: बढ्दै गइरहेको अर्थमन्त्रालयले जनाएको छ ।
समीक्षा बैठकमा अर्थमन्त्री शंकरप्रसाद कोइराला, अर्थ सचिव शान्तराज सुवेदी, मन्त्रालयका उच्च पदाधिकारी, विभागीय प्रमुख, उपत्यकास्थित कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया