शीर्ष नेता जिताउने सहमति भएको छैन: दाहाल

Puspakamal-Dahal-Tiharनेपालगञ्ज, २५ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा शीर्ष नेताहरुलाई जिताउन कहीँ पनि तालमेल गर्ने सहमति नभएको बताएका छन् ।

नेपालगञ्जको त्रिभुवन चोकमा आज (सोमबार) विहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले शीर्ष नेतालाई जिताउने सहमति नभएको बताए । ‘शीर्ष नेताहरुलाई जिताउने सहमति भएको भन्ने हल्ला निराधार हो,’ उनले भने, ‘कांग्रेस र एमालेले लगत हल्ला फैलाएका छन् ।’

उनले चुनाव प्रभावित पार्ने षड्यन्त्र स्वरुप कांग्रेस र एमालेले शीर्ष नेता जिताउने सहमति भएको हल्ला फैलाएको आरोप लगाए । उनले भने, ‘त्यस्ता भ्रमपूर्ण प्रचारका पछि नलाग्नुस ।’

अध्यक्ष दाहालले देशका कुनै पनि क्षेत्रमा कसैसँग तालमेल नहुने बताए । ‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा तालमेलको प्रस्ताव राख्दा कांग्रेस र एमालेले अस्वीकार गरे,’ उनले भने, ‘तर अहिले मत प्रभावित गर्न भ्रमपूर्ण प्रचारवाजीमा उनीहरु लागेका छन ।’

त्यसै गरी अध्यक्ष दाहालले संविधानसभा निर्वाचन बहिस्कारमा लागेर नेकपा–माओवादीले नागरिकलाई घात गरेको आरोप लगाए । उनले ‘संविधानसभाबाट नयाँ संविधान बनाउनु पर्छ भनेर युद्ध लडेका व्यक्तिहरु नै चुनावको बहिस्कारमा लाग्नु नागरिकमाथि महाघात हो ।’

प्रतिक्रिया