तरकारीको मूल्य अकासिएपछि उपभोक्ता मारमा

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटलगायत क्षेत्रमा केही दिन यता हरियो तरकारी तथा सब्जीको भाउ वृद्धि हुँदै गएपछि यस क्षेत्रका उपभोक्ता मारमा परेका छन् ।
दसैँतिहार तथा छठ पर्वको नाममा वृद्धि भएको हरियो तरकारी तथा सब्जीको भाउ अझ वृद्धि भएको उपभोक्ताको गुनासो छ । ६० देखि ७० रुपियाँ पाइँदै गरेको काउली अहिले एक सय रुपियाँ पर्न थालेको छ भने ४० रुपियाँ प्रतिकिलो पाइने आलु ६० मा पुगेको छ । एक सय २५ मा प्रतिकिलो पाइने हरियो खुर्सानी अहिले आएर एक सय ५० प्रतिकिलो पुगेको छ भने ४० प्रतिकिलोमा पाइने बन्दा ६० रुपियाँ पर्न थालेको उपभोक्ता बताउँछन् ।
यस्तै एक सय ४० रुपियाँ प्रतिकिलो पाइने अदुवा एक सय ६० रुपियाँ पर्न थालेको छ भने अन्य सब्जीको भाउ पनि झनै वृद्धि भएको गाईघाटका स्थानीय उपभोक्ता खगेन्द्र खड्काले बताए । ‘अब त हिउँद लाग्यो, दसैँतिहार पनि सकियो, सब्जीको भाउ घट्छ होला भनेको त उल्टो बढ्दै जान थालेको छ, अब सर्वसाधारणले सब्जी किनेर खान नसक्ने भए ।’ उनले भने । सब्जीको भाउमा वृद्धि हुन थालेका कारण गाईघाट बजारका होटल व्यावसायीसमेत खानाको मूल्य बढाउन बाध्य हुन लागेको गाईघाट मेलिना होटलका सञ्चालक गङ्गा राई बताउँछन् । सब्जी व्यापारीहरू भने आफूले अधिकांश सब्जी भारतबाट खरिद गर्नुपर्ने अवस्था रहेको कारण महँगो भएको बताउँछन् ।
गाईघाटका सब्जी व्यापारी कमल साह भन्छन्, ‘आफूले पनि बाहिरबाट महँगो मूल्यमा नै खरिद गर्ने गरेको कारण महँगोमा सब्जी बिक्री गर्न बाध्य भएको हुँ, अब नेपालको तराईमा उत्पादित सब्जी आएपछि सब्जीको भाउ घट्न सक्छ, केही दिन मूल्य महँगो नै हुन्छ ।’ सब्जी व्यापारी भने अझै केही दिन सब्जीको भाउ महँगो नै हुने बताउँछन् ।
दसैँतिहारपछि पनि सब्जीको भाउ नघटेर झनै वृद्धि भएपछि उदयपुरको सदरमुकामलगायतका क्षेत्रका उपभोक्ता भने मारमा पर्नुपरेको गुनासो बढ्दै जान थालेको छ । (सौस)

प्रतिक्रिया