काठमाडौं : प्रमुख ६ राजनैतिक दल सम्मिलित राजनीतिक समितिले १० दिने आमहड्ताल फिर्ता लिन नेकपा–माओवादीलाई आव्हान गरेको छ ।
राजनीतिक समितिको शनिबार डिल्लीबजारमा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनमा सहभागी राजनीतिक दलहरु, आमजनसमूदाय, निर्वाचन आयोग र नेपाल सरकार ४ मंसिरमा मतदात कार्य गर्न गराउन पूर्णतयारी र उत्साहसाथ जुटिसकेको अवस्थाप्रति उच्चस्तरीय राजनीतिक समिति पूर्ण आश्वस्त भई सन्तोष प्रकट गर्दछ भनिएको छ । देश चुनावी अभियानमा जुटिसकेकाले निर्वाचन विथोल्ने गतिविधि नगर्न पनि समितिले आग्रह गरेको छ । ४ मंसिरको निर्वाचन प्रभावित बनाउने उद्देश्यले नेकपा–माओवादीले १० दिने आमहड्ताल गर्ने निर्णय गरेको थियो । समितिले माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले २५ कात्तिकदेखि गर्ने भनेको आमहड्ताल फिर्ता लिन आव्हान गरेको हो ।
‘शान्तिपूर्ण बााच्न पाउने नैसर्गिक अधिकारमा बन्द, हड्तालजस्ता गतिविधिद्वारा अवरोध नगर्न, संविधानसभामा नेपाली जनताले मतदान गर्न पाउने नैसर्गिक अधिकारको हनन् नगर्न तथा राजनीतिक दलहरुले निर्वाचनको तयारीमा गर्ने आमसभा र शान्तिपूर्वक गरिने प्रचारप्रसार कार्यमा अवरोध नपुर्याउन उच्चस्तरीय राजनीतिक समिति आव्हान गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । ४ मंसिरको निर्वाचन हुने विषयमा शंका नगर्न पनि समितिले सबैलाई आग्रह गरेको छ । ती दलले ४ मंसिरको निर्वाचन नसर्ने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया