‘एमाओवादीको भजन र स्तुती गाउने काम’

abc tvकाठमाडौं, २३ कात्तिक । एमालेले एबीसी टेलिभिजनले एमाओवादीका प्रचार सामाग्री, समाचार तथा कार्यक्रमहरु पूर्ण रुपले एकतर्फी प्रशारण गरेको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रचार प्रसार समितिले आज (शनिबार) विज्ञप्ति जारी गरेर एबीसी टेलिभिजनका कार्यक्रम र समाचारहरु आचार निर्वाचन संहिता विपरित रहेको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको हो ।

‘एबीसी टेलिभिजन एमाओवादीको निर्वाचन प्रचार संयन्त्रको रुपमा देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस संचार माध्यमले अन्य सशक्त राजनीतिक दलहरुको मान मर्दन गर्ने कार्य भएको छ ।’

‘एबीसी टेलिभिजन एमाओवादीको मात्र चुनावी भजन, स्तुती गाउने काम स्वतन्त्र र निस्पक्ष प्रेस सिद्धान्तको विरुद्धमा छ,’ एमालेको आरोप छ । एबीसी टेलिभिजनको सो कार्यप्रति एमालेको ध्यानआकृष्ट भएको पनि जनाईएको छ ।

‘पत्रकारिताको अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा कुनै राजनीतिक पार्टीको प्रचार–संयन्त्रका रुपमा नलागी निस्पक्ष र स्वतन्त्र संचार माध्यमको धर्म निर्वाह गर्न अनुरोध छ,’ एमालेद्वारा जारी बुटेलिटमा जनाईएको छ ।

एबीसी टेलिभिजनले एमाओवादीको मेची–काली जागरण यात्रा र अन्य चुनावी कार्यक्रमहरु प्रशारण गरेको भन्दै निर्वाचन आयोगमा पनि उजुरी परिसकेको छ । आयोगले एबीसी टेलिभिजनलाई स्पष्टीकरण पनि सोधेको छ ।

प्रतिक्रिया