पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात

nepal_oil_corporation_विराटनगर, २३ कात्तिक । संविधानसभा निर्वाचनका लागि पूर्वाञ्चल डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त मात्रामा रहेको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलद्वारा कात्तिक २५ गतेदेखि आह्वान गरिएको बन्दले पेट्रोलियम पदार्थको आयात–निर्यातमा समेत असर पर्ने आशङ्का भइरहेकोमा निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थको मौज्दातमा कमी नहुने र वृद्धि गर्दै गएको बताएको छ ।

निगमका क्षेत्रीय प्रमुख जगन्नाथ घिमिरेले बन्द–हडताल भए पनि पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव नहुने दाबी गरे । कार्यालयका अनुसार हाल डिपोमा पाँच लाख लिटर पेट्रोल, २६ लाख लिटर डिजल र एक लाख लिटर मट्टितेल रहेको तथा यसको भण्डारण वृद्धि गरिँदै लगिने छ । पूर्वाञ्चलमा दैनिक एक लाख लिटर पेट्रोल, तीन लाख लिटर डिजल र १२ हजार लिटर मट्टितेल बिक्री–वितरण हुने गरेको उनले बताए । यही कात्तिक २५ गतेसम्म भारतको बरौनीबाट थप पेट्रोलियम पदार्थ आयात गरी भण्डारण क्षमता तीन गुणा वृद्धि गर्ने त्यहाँका प्राविधिकहरूले जनाएका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ कात्तिक देखि बन्द–हडतालको आशङ्का रहेकाले पेट्रोलियम पदार्थको भण्डारण वृद्धि गर्न नेपाल आयल निगमलाई परिपत्र गरेको छ । पूर्वाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने करिब दुई सय पम्प व्यवसायी रहेका छन् ।

प्रतिक्रिया