भयरहित निर्वाचनको अपेक्षा

अहिले मुलुक चुनावमय वातावरणले रंगिएको छ । चुनाव हँदैन कि भन्ने शंका हट्दै गएपछि हारजितको हिसाब हुन थालेको पाइन्छ । कुन दलले कति सिट ल्याउला र, कुन क्षेत्रमा कुन उम्मेदवारले जित्ला भन्ने आँकलन गर्न थालिएको छ । नेपालीको भन्दा पनि विदेशीहरूको चर्को दबाबका कारण चुनाव हुनैपर्ने अवस्था आएको बताउनेहरू पनि कम छैनन् । यिनै कारणले गर्दा नेकपा–माओवादीलगायत दलहरू निर्वाचनको मिति सार्ने मनस्थितिमा रहे पनि त्यो अवस्था आउन नदिन अन्य सबै पक्ष लागेका छन् । यी सबै पक्षको समीक्षा गर्दा चुनाव हुने निश्चित भयो । तर, यसपछि बनेको संविधानसभाले संविधान बनाउन सक्छ वा सक्दैन भन्ने प्रश्न भने गम्भीर रूपमा उठ्ने भएको छ । अब बन्ने संविधानसभा विगतको संविधानसभा जस्तो मात्र हुने छैन । विगतमा चार दलका नेताले गरेको निर्णय सबैले मान्ने अवस्था थियो भने अब चार जनाको स्थानमा १० जनासम्म बसेर निर्णय गर्नुपर्ने हुनसक्छ भन्ने अड्कल गरिएको छ । अब अन्य क्षेत्रीय, धार्मिक र जातीय मुद्दा उठाउने पार्टीहरू पनि सभामा थपिने छन् । उनीहरूको चित्त बुझाउन सक्ने अवस्था हुने छैन । जसले गर्दा संविधान निर्माणमा बाधा पुग्ने छ ।
जेहोस् संविधानसभाको दोस्रो निर्वाचनपछि निर्दलीय भनिएको वर्तमान सरकार रहने छैन । तर, सरकार बनाउन दलहरूलाई सकस पर्ने आँकलन गर्न थालिएको छ । कसैको पनि एकमना सरकार बन्ने अवस्था नरहेपछि दलहरू सरकार बनाउने र ढाल्ने खेलमै व्यास्त हुने निश्चित छ । विगतमा दलहरूले संविधान निर्माणलाईभन्दा पनि सरकार बनाउने र भत्काउने खेलमा रमाए । अहिले पनि त्यही प्रक्रिया दोहोरिने अवस्था आउने देखिन्छ । निर्वाचन आउन १० दिन मात्र बाँकी रहेको अवस्थामा आचारसंहिताका उल्लंघनका सामान्य घटनाबाहेक निर्वाचनलाई बाधा पुर्‍याउने अन्य गतिविधि देखिएको छैन । यसले गर्दा निर्वाचन धाँधलीरहित हुने सम्भावना बढेको छ । तर, लोकतान्त्रिक पद्धतिअनुरूप निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्नका लागि ठूला दलहरू नै प्रतिवद्ध हुनुपर्छ । अन्यथा निर्वाचन धाँधलीरहित र निष्पक्ष हुन सक्दैन । ठूला दलहरूले १० जनासम्म बसेर निर्णय गर्नु पर्ने जसरी पनि आफैँ चुनाव जित्नेभन्दा पनि निष्पक्ष निर्वाचन गर्नेतर्फ दलहरू लागे भने त्यसलाई मात्र निर्वाचन भन्न सकिन्छ । अन्यथा निर्वाचनका लागि निर्वाचन मात्र हुनेछ । मतदाताको अभिमतभन्दा पनि त्यहाँ कुनै दलको जबरजस्ती झल्किने छ । तसर्थ निर्वाचन भयरहित हुन जरुरी छ ।
कतिपय दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खबर आइरहेका छन् । दलहरू आफैँले आचारसंहिताप्रति संवेदनशील हुन जरुरी छ । निर्वाचन भयरहित र निष्पक्ष हुन किन पनि आवश्यक छ भने जनताले आफ्नो मतको कदर भएको ठान्ने छन् । निर्वाचन आयोगले परिचयपत्र वितरण गर्न नसकेको फाइदा उठाउन सक्नेतर्फ सम्बन्धित पक्ष गम्भीर हुनै पर्छ । अन्यथा बाहुबलको प्रदर्शनले मतदान प्रभावित हुन सक्छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचनमा परिचालन भएका छन् । मतदातामा रहेको डर हराएको छ । तर, दलहरूले नै निर्भयतापूर्वक मतदान गर्ने वातावरण तयार गरी दिनुपर्छ । सुरक्षा निकायले त सुरक्षा प्रदान गर्ने मात्र हो । सबैभन्दा भयरहित निर्वाचनका लागि दलहरू अग्रसर हुनैपर्छ । अहिले नेकपा–माओवादीलगायत ३३ दल चुनावको विपक्षमा छन् । सुरक्षा निकायले त्यसतर्फ बढी ध्यान दिनु पर्ने देखिन्छ ।

प्रतिक्रिया