बर्दिया : आ–आफ्नो चुनावी प्रचारप्रसार तीव्र रूपमा अगाडि बढिरहेका बेला बर्दिया क्षेत्र नं. ३ का एक उम्मेदवार भने अर्कै पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ३ बाट प्रत्यक्ष उम्मेदवार रहेका हरिबहादुर थापा भने पार्टीको प्रचार छाडेर नेपाली कांग्रेसको प्रचारमा लागेका छन् । जितका लागि अन्य पार्टीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा चलिरहेको बेला बर्दियाको क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उठेका सद्भावना पार्टीका उम्मेदवार थापा नेपाली कांग्रेसको प्रचारमा लागेका हुन् । सद्भावना पार्टीसँग भएको सहमति कार्यान्वयन नभएपछि आफू चुनावबाट पछि हटेर नेपाली कांग्रेसको प्रचारमा लागेको उम्मेदवार थापाले बताएका छन् । सद्भावना पार्टीका जिल्ला अध्यक्ष धनेश यादवले आफूलाई आधिकारिक खबर प्राप्त नभएको जानकारी दिए । उनले आधिकारिक जानकारी प्राप्त आएपछि मात्र पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताए । उम्मेदवार छनौटको समयमा सद्भावना पार्टी प्रवेश गरी बर्दिया क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार बनेका थापा यसअघि नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका थिए ।
प्रतिक्रिया