धनगढी : शुक्रबार सुदूरपश्चिमका उच्चहिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । एकाएक भएको हिमपातले अत्यधिक चिसो बढेको छ । यहाँका बझाङ, बाजुरा, दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा रहेको उच्च भेगमा हिमपात भएको प्रहरीको भनाइ छ । हिमपातसँगै सर्वसाधरणहरू बेँसी झर्न थालेका छन् । यी जिल्लाको माथिल्लो भागमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँ परेर चिसो बढेकाले निर्वाचनमा खटिने सुरक्षा गस्तीमा समेत समस्या भएको छ भने हिमपातका कारण स्थानीय धमाधम बेँसीतिर झर्न लागेकाले मतदानमा असर पर्ने सम्भावना बढिरहेको बझाङ काँडाका महिमान तामाङले बताए । आकासमा बादल मडारिरहेकाले अझै केही दिन उच्चहिमाली भेगमा हिउँ पर्ने स्थानीयको भनाइ छ । हिमपातले बझाङको काँडा, बाजुराको बिच्छ्याँ, रुगिन, कोल्टी, दहकोट, साप्पाटा तथा दार्चुलाको राप्ला, छाङ्रु, टिंकरलगायत उच्च भेगमा हिमपात भएको छ । पानीसँगै भएको हिमपातले त्यहाँ रहेका कम्तिमा पनि ३० वटा मतदान केन्द्रमा असर पर्न सक्ने त्यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया