धनगढी, २३ कात्तिक । ढुक्क भएर निर्वाचनमा सहभागी हुन आममतदाता, उम्मेदवार तथा दलका नेता कार्यकर्ताहरूलाई कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले आग्रह गरेका छन् ।
निर्वाचनलाई निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाअधिकारीलगायतसँगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लेखकले निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको खटनपटन, सामग्री र सुरक्षा व्यवस्थाको प्रबन्ध भइसकेको बताए ।
‘केन्द्रबाट आइपुग्नुपर्ने निर्वाचन सामग्री जिल्लामा आएर सम्बन्धित मतदान स्थलमा पठाउने र निर्वाचनमा खटिने कर्मचारीहरूलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी लेखकले भने, ‘अब मतदान गर्ने दिनको पर्खाइमा छौँ ।’
कैलालीलगायत केही जिल्लालाई सुरक्षा संवेदनशिलता उच्च जोखिममा राखेको भए पनि यहाँ कुनै सुरक्षा खतरा नरहेको प्रमुख जिल्ला अधिकारी लेखकको भनाइ थियो । निर्वाचनका बेला कुनै अप्रिय घटना नहोस् र मतदाताले ढुक्क भएर मतदान गर्न पाउन् भनेर छ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिसकेको उनले जानकारी दिए ।
छ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ३ लाख ३३ हजार ६ सय ६१ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार निर्वाचनमा २ सय १७ मतदान स्थल र ४ सय ७२ मतदान केन्द्र छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लेखकले सरोकारवालाहरूलाई अतिआवश्यकीय सेवा र सामग्री सहजरूपमा समयमै आपूर्ति गर्न आग्रह गर्दै सञ्चारकर्मीहरूलाई मुलुक निर्वाचनको अन्तिम संघारमा पुगिसकेकाले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखी सकारात्मक समाचार दिन आग्रहसमेत गरेका थिए ।
निर्वाचनको विरोधमा रहेको वैद्य माओवादीलगायत मोर्चाले गर्ने भनिएको आमहड्ताललाई मध्यनजर राखी मुख्य सडक तथा अन्य क्षेत्रमा सशस्त्र प्रहरीको हतियारसहित गस्ती टोली खटिएको छ । त्यसैले सबैलाई ढुक्क भएर आफ्ना सवारीसाधन चलाउन कार्यक्रममा उपस्थित सुरक्षा अधिकारीहरूले अनुरोध गरेका थिए ।
‘सवारीसाधन चलाउनुस्, हामी सुरक्षा दिन्छौँ,’ अत्तरियास्थित सशस्त्र प्रहरी बल बडिमालिका गणका प्रहरी उपरीक्षक हर्कबहादुर रावलले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा पनि छ वटा सशस्त्र प्रहरीको टोली खटिसकेको छ । यसले पनि अपुग भए गाडीमै हतियारहितका प्रहरी पठाएर भए पनि शान्तिसुरक्षा दिन्छौँ ।’
आफू निर्वाचनविरोधी दलका नेतासँग नियमित सम्पर्कमा रहेको र उनीहरूले निर्वाचन भाँड्ने कुनै अराजक गतिविधि नगर्ने विश्वास दिएकाले कैलालीमा निर्वाचन शान्तिपूर्णरूपमा हुनेमा कुनै आशंका नरहेको प्रमुख जिल्ला अधिकारी लेखकको भनाइ थियो ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि खड्कराज जोशीले कैलाली शान्तिसुरक्षाको हिसाबले बढी संवेदनशील भए पनि हालसम्म कुनै अप्रिय घटना नहुनु सौभाग्य भएको बताउँदै निर्वाचनमा भाग नलिएका साथै भाग लिएकालाई पनि निगरानीमा राख्नुपर्ने सुझाव दिए । जोशीले सुरक्षाकर्मीलाई बढी बल प्रयोग गर्दा निर्वाचनपछि पनि नराम्रो परिणाम आउन सक्ने भएकाले होसियारपूर्वक आफ्नो कार्य गर्न तथा विरोधका कार्यक्रम गर्नेले पनि सिस्टमेटिक तवरले गर्न आग्रह गरे । कार्यक्रममा यातायात व्यवसायी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचनका लागि हटलाइन सेवा
यसैबीच आसन्न निर्वाचनमा हुने विभिन्न गतिविधिबारे जानकारी दिन बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयमा रहने गरी टोल फ्री नम्बर जडान गरिएको छ ।
१६६०९१५२१११ नम्बरको यो टोल फ्री नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएकाले जो सुकैले पनि निर्वाचनसम्बन्धी सूचना दिन प्रमुख जिल्ला अधिकारी वेदप्रकाशक लेखकले आग्रह गरेका छन् ।
निर्वाचन सूचना विश्लेषण तथा प्रतिवेदन समितिअन्तर्गत उक्त टोल फ्री नम्बरमा २४ सै घन्टा सञ्चालनमा रहनेछ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रतिनिधिलाई टोल फ्री नम्बरमा खटाइएको छ ।
टोल फ्री नम्बर सञ्चालनपछि चुनावविरोधी गतिविधि थाहा पाउन र त्यसलाई समयमै नियन्त्रण गर्न सजिलो हुने प्रमुख जिल्ला अधिकारी लेखकको बताए ।
प्रतिक्रिया