प्रचण्डलाई चेतावनी

Elecatation Commisation

निर्वाचन आयोग

काठमाडौं, १५ कात्तिक । आचारसंहिता उल्लंघन गरेको विषयमा निर्वाचन आयोगले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले निर्वाचन आचारसंहिताविपरीत एमाओवादी अध्यक्ष दाहालले हेलिकोप्टर प्रयोग गरेको विषयमा स्पष्टीकरण सोध्ने निर्णय छ । निर्वाचन आचारसंहिताअनुसार कर्णाली र गाडी नपुग्ने हिमाली क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर प्रयोग गर्न पाइँदैन । एमाओवादी अध्यक्ष दाहालले भने आयोगको आचारसंहितालाई चुनौती दिएर राजधानीबाट ४० किमि मात्रै पर रहेको स्थानमा जाँदा हेलिकोप्टर प्रयोग गरेका थिए । गत बुधबार अध्यक्ष दाहालले काभ्रे र दोलखाको चुनावी सभालाई सम्बोधन गर्न जाँदा हेलिकोप्टर प्रयोग गरेका थिए । उनी बुधबार काठमाडौंबाट काभ्रे पुगेर हेलिकोप्टरमै दोलखाको कार्यक्रमस्थल पुगेका थिए । एमाओवादी अध्यक्ष दाहालले भने वैद्य समूहले गरेको बन्दका कारण हेलिकोप्टर प्रयोग गर्नुपरेको जिकिर गरेका थिए । काठमाडौंदेखि ४८ किमि टाढा रहेको काभ्रेको चुनावीसभालाई सम्बोधन गर्न दाहालले प्रतिघन्टा १ लाख ५७ हजार भाडा पर्ने फिस्टेल एअरको हेलिकोप्टर प्रयोग गरेका थिए । सो सुविधा प्रयोग गर्न दाहालले आयोगसँग कुनै अनुमति लिएका थिएनन् ।

यसअघि पनि उनले सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङलगायत जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न पनि हेलिकोप्टर नै प्रयोग गरेका थिए । आयोगले निर्वाचन प्रचार–प्रसारका लागि यातायातको सुविधा भएका क्षेत्रमा बढीमा दुईवटा मात्र सवारीसाधन प्रयोग गर्न अनुमति दिएको छ । अन्य दलका नेता र उम्मेदवारले पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रम रोकिएको छैन । निर्वाचनमा प्रचार गर्ने उद्देश्यले राजनीतिक दलको झन्डा वा निर्वाच चिह्न छापिएको टोपी, टिसर्ट, कमेज, झोला वा कलमलगायत सामग्री पनि प्रयोग गर्न पाइँदैन । भोजभतेरजस्ता कार्यक्रममा पनि आयोगले रोक लगाएको छ । प्रचारका लागि तुल–ब्यानरसमेत प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा प्रस्ट उल्लेख छ । तर, आयोगले तोकेको मापदण्डलाई दलका नेताले चुनौती दिँदै आएका छन् । आयोगले आचारसंहितालाई कढाइ गर्न प्रत्येक निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एक/एक जना शाखा अधिकृतस्तरको आचारसंहिता अनुगमन अधिकृतको समेत व्यवस्था गरेको छ । आयोग आफँैले पनि आचारसंहिता उल्लंघन भएको उजुरी परे कारबाही गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया