शिर्ष नेतालाई प्रवेशमा रोक

बर्दिया : आगामी संविधान सभाको निर्वाचनमा भाग नलिएको नेकपा–माओवादी पार्टीले बर्दिया जिल्लामा चार दलका प्रमुख नेतालाई प्रबेश निषेध गरेको छ । संविधान सभा निर्वाचनको प्रचार प्रसारका लागि जिल्लामा आउन लागेका चार दलका प्रमुख नेताहरुलाई माओवादीले प्रवेश निषेध गरेको हो ।
नेकपा–माओवादी बर्दियाका इन्चार्ज सुमनले बिहिबार एक प्रेश विज्ञप्ती जारी गरि चार दलका नेतालाई चुनाव प्रचारका लागि निषेध गरिएको बताएका छन् । नेकपा माओवादीले चुनावमा सवारी साधन धनीहरुलाई चुनावी प्रचार प्रसारका लागि दलका उम्मेदवारहरुलाई प्रयोग गर्न नदिन विज्ञप्तीमा आग्रह गरीएको छ । मंसिर चारमा हुने संविधानसभाको निर्वाचनबाट संविधान नबन्न, बरु उल्टै बेरोजगारी, भ्रष्टाचार र महंगीलाई निम्त्याउने भन्दै विज्ञप्तीमा चार गतेको चुनावलाई बहिस्कार गर्न सम्पूर्ण जनतालाई आग्रहसमेत गरिएको छ । यसैबीच नेकपा–माओवादीले शुक्रबार पाँच ओटा राज्य बन्दको आव्हान गरेको छ । चुनाव बहिष्कारको आन्दोलनलाई थप प्रभावकारी बनाउन भन्दै पश्चिम नेपालका थारुवान, भेरी कर्णाली, सेती महाकाली, मगरात र अवध राज्यमा बन्दको आयोजना गरेको हो । (सौस)

प्रतिक्रिया