आचारसंहिता पालना गर्ने दलहरूको प्रतिबद्धता

Antar-Sambad

बर्दिया

बर्दिया, १५ कात्तिक । बर्दिया जिल्लाका राजनीतक दलहरुले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता गरेका छन् ।

सदरमुकाम गुलरियामा आयोजित “स्वच्छ निर्वाचन, घोषणा–पत्र, आचारसंहिताको पालना र प्रतिवद्वता” अन्तर संवाद कार्यक्रममा सहभागी राजनीतिक दलहरुले आफ्नो तहबाट निर्वाचन आचारसंहिता पालना गर्न प्रतिवद्धता जनाएका हुन् ।
दलहरुले आचारसंहिता विपरित भएका पोस्टर, ब्यानर तथा झण्डा हटाउने समेत बताए । साथै उनीहरुले नागरिक, परिवेक्षक, पत्रकार सबैले ग्रामिण क्षेत्रमा पुगि आचारसंहिता पालनाको बारेमा आफूहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत जानकारी गराउन समेत आग्रह गरे ।् मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख तथा जिल्ला अदालत बर्दियाका न्यायधिश ऋषीप्रसाद अधिकारीले आफू कहाँ आचारसंहिता उल्लघंनको अहिलेसम्म कुनै उजुरी नआएको बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले निर्वाचनको माहौललाई प्रयोग गरी अपराधिक प्रवृतिका व्यक्ति र समूह सक्रिय हुने अवस्था रहेकोले राजनितिक दल र सबै नागरिकलाई सचेत हुन आग्रह गरे । शान्तिसुरक्षाको लागि प्रशासन कार्यालय र मातहतका निकाय सचेत रहेको र सुरक्षाको लागि विना बर्दीका सुरक्षाकर्मी नागरिकहरुसंग सहकार्य गरी अगाडी बढ्न पर्नेमा जोड दिए । सिमावती क्षेत्रबाट हुन सक्ने असुक्षाका घटना रोक्न भारत तर्फका सम्बन्धित निकायसंग छलफल गरी सबै ब्यवस्था मिलाई सकेको पनि बताए । बर्दिया जिल्ला सुरक्षाको दृष्टिले संवेदनशिल भएकोले विशेष गरी सिमावर्ती क्षेत्रका मतदान स्थलमा सुरक्षामा बिशेष व्यवस्था मिलाएको पनि जानकारी दिए ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेशविक्रम शाहले निर्वाचन अवधीमा मुख्य गरी चुनावमा भाग लिएका राजनितिक दल र बहिष्कारमा रहेको नेकपा—माओवादी पार्टी तथा ३३ दलिय मोर्चाका आचारसंहिता गतिविधी असुरक्षाका मुख्य चुनौती रहेको बताए । चुनावमा भाग लिएका दल र सम्बन्धित पक्षले आचारसंहिता विरुद्धका कार्य नगरेमा मात्रै पनि ५० प्रतिशत सुरक्षाको अनुभुति हुने बताउँदै भारतसंगको खुल्ला सिमानाका कारण केही समस्या भएपनि सुरक्षा संयन्त्रले सक्रिय भएको बताए । चुनाव बहिष्कार गर्ने पक्षले बहिष्कारको प्रचार गर्दा अपराध क्रियाकलाप गर्न नपाउने, यदि गरेमा कानुनी कार्वाही गरिने बताए ।
सहभागिहरुबाट भने राजनितिक दलहरु आचारसंहिता पालना र प्रतिवद्धता प्रति इमान्दार नभएको, देश र जनता प्रति जवाफदेहि नभए बताउँदै आक्रोश पोखेका थिए ।
कार्यक्रममा राजनितिक पार्टीहरुले पहिलो संविधान सभाको विघटन बाध्यता भएको र त्यसको कमजोरीबाट पाठ सिक्दै दोस्रो संविधान सभामा त्यस्तो हुन नदिन चुनावी घोषणा–पत्रमै व्यवस्था गरी अगाडी बढेको बताएका थिए । दलका प्रतिनिधीहरुले निर्वाचन परिवेक्षकहरु गाउँगाउँमा पुगि तथ्य संकलन गर्न आग्रह गरेका थिए । यसै गरी मतदातासम्म मतदाता शिक्षा प्रभावकारी रुपमा पुग्न नसकेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, सघंसस्था, सञ्चार माध्यमहरु मार्फत लाग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्टिय प्रजातन्त्र पार्टीलगायतका ७ वटा दलले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया