‘बहिष्कार गरे शान्तिप्रक्रिया टुंगिँदैन’

Narayanman-Bijuksheबुटवल, १५ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा निर्वाचन बहिष्कार गरे शान्ति प्रकृया नटुङगीने बताएका छन् । नेकपा– माओवादीको निर्वाचन बहिष्कार अभियानले शान्ति प्रकृया संकटमा परेको पनि अध्यक्ष विजुक्छेले जीकिर गरे ।

नेमकिपा रुपन्देही जिल्ला समितिले बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विजुक्छेले निर्वाचनमा भाग लिने र नलिने राजनीतिक अधिकार भए पनि जनतालाई तर्साएर मताधिकारबाट वञ्चित गराउन नपाइने बताए । ठूला राजनीतिक दलले आचारसंहिता उल्लङघन गरेर निर्वाचनको प्रचारप्रसार गरेको बताउँदै नेता विजुक्छेले संविधानसभा निर्वाचनमा पैसा बाँड्ने, विकासको नाममा पुल, सडक बनाइदिन्छौँ खानेपानीको व्यवस्था पूर्ण रुपले गरिदिन्छौ भन्ने जस्ता झुटा आश्वासन बाडनमा दलहरु ब्यस्त भएको आरोप लगाए ।
उनले संविधानसभा निर्वाचनलाई संसदीय र स्थानीय निर्वाचन जस्तो बनाउन खोजिएकोमा चिन्ता पनि ब्यक्त गरे । पटक पटक सत्तामा बसेर देशको विकास नगर्नेहरु निर्वाचनको मुखमा आएर विकासका कुरा गरेर जनतालाई भ्रममा पार्ने दाउमा रहेको आरोप पनि उनले लगाए । अध्यक्ष विजुक्छेले जातीय राज्यको कल्पना पनि गर्न नहुने जीकिर गरे । समयमै स्थानीय निकायलाई स्वायत्तता दिई विकेन्द्रीकरण गरेको भए जातीय र क्षेत्रीय सङघीयताको कुरा नउठ्ने तर्क पनि उनले गरे ।

प्रतिक्रिया