आपूर्ति व्यवस्था दुरुस्त राख्न निर्देशन

sarkar logoकाठमाडौं, १२ कात्तिक । सरकारले तिहार, छठ पर्व र संविधान सभाको दोस्रो निर्वाचनलाई ध्यानमा राखेर आपूर्ति व्यवस्था दुरुस्त बनाउन मातहतलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले आज (मंगलबार) काठमाडौंमा खुलेका सुपथ मूल्यका पसलहरुको आकस्मिक स्थलगत निरीक्षणका क्रममा आपूर्ति व्यवस्थामा ध्यान दिन सरोकारवाला कार्यालयलाई निर्देशन दिएका हुन् ।

‘तिहार, छठ पर्व र संविधानसभाको निर्वाचनसम्म आपूर्ति व्यवस्थालाई दुरुस्त राख्नुस्,’ उनले भने ।

सचिव वास्कोटासँग अनुगमनका क्रममा सार्वजनिक संस्थानका प्रमुख र सम्वद्ध सरकारी पदाधिकारीहरु समेत रहेका थिए ।

वास्कोटाले आकस्मिक रुपमा सूर्य विनायक, कोटेश्वर, जावलाखेल, वल्खु, कालिमाटी, टेकु र सिंहदरवार (रामशाहपथ) मा खुलेका सुपथ मूल्यका पसलहरुको निरीक्षण गरेका थिए ।

सुपथ मूल्यका पसलहरुमा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध गराउन सरकारले राजधानीमा पसलहरु खोलेको छ ।

प्रतिक्रिया