इतिहास रच्ने दाउमा मुख्य दल

Mahesh_Basnetभक्तपुर, १२ कात्तिक । सधैँ एउटै पार्टीको जितले जिल्लामा विकाश निमार्णका साथै अन्य क्षेत्रमा पनि केही परिर्वतन नभएको भन्दै यसपाली भक्तपुरमा मुख्य दलका उम्मेदवारहरू इतिहास रच्ने दाउमा रहेका छन् ।

जनताले नेतृत्वमा परिर्वतन चाहेको भन्दै दलहरू घरदैलोमा पुगेर मत मागि रहेका छन् । मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भक्तपुरमा पनि राजनीतिक दलहरूको घरदैलो अभियानले गर्दा चहलपहल बढेको छ । जिल्लाको सोह्र गाउँ विकास समिति र दुई नगरपालिकामा चुनावी चहलपहल निकै बढेको छ । आज भोलि चोक, चौतारा र चिया पसलमा मात्र होइन दुई जना मात्र भेट भए पनि चुनावी गफ चल्ने गरेको छ ।
नेपालकै सानो तथा उपत्यका भित्रकै जिल्ला भक्तपुरको सम्पूर्ण गाउँ र वस्तीमा सडक सुविधा भएकाले दलहरूलाई प्रसारप्रचारमा अन्य जिल्लाको भन्दा तुलनात्मक रूपमा सहज भएको देखिन्छ । नेकपा एमाले, कांग्रेस, एमाओवादी, नेपकिपालगायतका अन्य दलहरूले घरदैलो अभियानलाई अत्यत्न महत्वका साथ जारी राखेका छन् ।
एमालेले क्षेत्र नं. १ का छालिङ, बागेश्वरी, सुडाल र क्षेत्र नं. २ को बालकोट, सिरुटार मध्यपुर नगरपालीको केही वडा बाँकी रहेको जानकारी दिएको छ । कांग्रेसले क्षेत्र नं. २ सकिएको र क्षेत्र नंमा घरदैलो अभियान अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको निर्वाचनदेखि नेपाल मजदुर किसान पार्टीले चुनाव जित्दै आएको थियो । क्षेत्र नं. १ निर्वाचन क्षेत्रमा जनताले परिर्वतन खोजेकाले यसपाली आफूूले जित्ने निश्चित भएको भन्दै नेकपा एमाले, एनेकपा माओवादी र नेपाली कांंग्रेसका नेताहरू लागि परेका छन् ।
क्षेत्र नं. १ निर्वाचन क्षेत्रमा नगरकोट, झौखेल, सुडाललगायतका ८ गाविस र भक्तपुर र मध्यपुर नगरपालिकाको केही वडाहरू पर्ने उक्त क्षेत्रमा ६७ हजार ३ सय ३९ मतदाता रहेका छन् । अघिल्लो संविधानसभाको निर्वाचनमा १९ हजार ९ सय हाराहारी मत ल्याएर विजय भएका नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलाई योपटक भने निकै चुनौती थपिएको देखिन्छ । विजुक्छेलाई नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी रञ्जु नापित, नेपाली कांग्रेसका कृष्णलाल भड्ेल र नेमकिपा त्यागी एमाओवादीमा प्रवेश गरेका एमाओवादीका उम्मेदवार सानु श्रेष्ठले चुनौती दिएका छन् । यस क्षेत्रमा ९ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं.२ निर्वाचन क्षेत्रमा पनि चुनावी माहोलको रौनक निकै नै देखिन्छ । पछिल्लोपटक नेमकिपाका सचिव सुनील प्रजापतिले जितेको यस क्षेत्रमा एमाले निकट युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको उम्मेदवारीसँगै चुनावी वातावरण तातेको छ ।
वि. स. २०५४ सालको स्थानीय निर्वाचनमा गुण्डु गाविसका अध्यक्षमा विजय भएका बस्नेत नेपाली युवाहरूको भावना र मर्म अनुरूप संविधान बनाउनका लागि युवा नै चाहिने भएकाले आफ्नो जित सुनिश्चत रहेको दाबी गर्छन् । जिल्लाको समस्या समाधान र भक्तपुरलाई राष्ट्रिय राजनीतिसँग जोड्न आफूूले उम्मेदवारी दिएको समेत बस्नेतले बताए ।
यस क्षेत्रमा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका रामेश्वर ढुंगेल, एमाओवादी डिपी ढकाल, नेमकिपाका सुनील प्रजापतिलगायतकाले उम्मेदवारी दिएका छन् । सिरुटार, बालकोट, चित्तपोललगायतका ८ गाविस तथा भक्तपुर र मध्यपुर नगरपालीकाको केही वडाहरू पर्ने उक्त क्षेत्रमा ८२ हजार २ सय १७ को संख्यामा मतदाता रहेका छन् । यस क्षेत्रमा ९ स्वतन्त्र सहित ३५ जनाले उम्मेदवारी दिएका छन् । जितको लक्ष्यका साथ चुनावी मैदानमा होमिएका भक्तपुरका विभिन्न राजनीतीक दलका उम्मेदवारहरूले घरदैलो अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रतिक्रिया