तराईमा दुईसहित १० प्रदेशको पक्षमा फोरम लोकतान्त्रिक

काठमाडौं, १२ कात्तिक । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले तराईमा थरूहट र मधेस गरी दुई प्रदेश र बाँकी क्षेत्रमा आठ प्रदेशको प्रस्तावसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा उच्चस्तरीय राज्यपुन: संरचनाआयोगले पारित गरेको १० प्रदेशको प्रस्तावलाई स्वीकार गरिएको छ । घोषणापत्र सार्वजनिक गर्ने क्रममा फोरम लोकतान्त्रिकका नेता तथा समानुपातिक उम्मेदारी कपिलेश्व यादवले आफ्नो पार्टी सुधारिएको समावेशी संसदीय लोकतान्त्रिक प्रणालीको पक्षमा रहेको पनि जानकारी दिए । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको सो पार्टीले दुई प्रदेशको नाम सार्वजनिक गरे पनि बाँकी आठ प्रदेशको नामका विषयमा केही पनि खुलाएको छैन । बाँकी प्रदेशको नाममा पछि सहमति गरेर सार्वजनिक गर्ने पनि नेता यादवले जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टी १० प्रदेशको नयाँ नेपालको संघीय संरचनाको पक्षमा रहेको कुरा सार्वजनिक गर्न चाहन्छौँ ।’ आठ प्रदेशको नामाकरण सहमतिमा गर्ने र नभएप्रदेशसभालाई नै दिने फोरम लोकतान्त्रिकको प्रस्ताव छ । सो पार्टीको घोषणापत्रमा संसदले चुन्ने प्रधानमन्त्री कार्यकारी हुने तर, प्रधानमन्त्रीलाई नियन्त्रण र सन्तुलनमा राख्न राष्ट्रपतिलाई पनि केही अधिकार दिने प्रस्तावअगाडि सारेको छ ।

प्रतिक्रिया