‘चकलेट’बाट सञ्चिताको पुनरागमन

sanchitaएकसमयकी निकै व्यस्त र चर्चित नायिका सञ्चिता लुइलेट चलचित्रमा देखा नपरेको धेरै भइसक्यो । अभिनेता निखिल उप्रेतीसँग विवाह गरेपछि मुम्बई भाँसिएकी थिइन्, सञ्चिता । त्यसपछि सन्तानको हेरचाहमै व्यस्त उनी लामो अन्तरालपछि फेरि नेपाली रजतपटमा फर्किएकी छिन् । अभिनेत्री पुजना प्रधानले निर्माण गर्न लागेको चलचित्र चकलेटमार्फत सञ्चिताको पुनरागमन हुन लागेको हो ।
पुसदेखि सुटिङ सुरु हुने भनिएको चकलेट चलचित्रका लागि फिगर मेन्टेन गर्न उनी अहिले दैनिक जसो क्लब धाइरहेकी छिन् । लामो समय गृहस्थी जीवनमा व्यतित गर्नुपरेकाले मोटाएकी थिइन सञ्चिता । त्यसैले अहिले सुटिङ सुरु हुनअघि नै मोटाएको ज्यान घटाउन सञ्चितालाई भ्याइ नभ्याई छ । दैनिक क्लब धाइरहेकी उनका लागि यो चलचित्र उत्कृष्ट पुनरागमन हुने निर्देशक निर्मला शर्माका दाबी छ ।
चलचित्रमा सञ्चिताका साथमा अभिनेता राजवल्लभ कोइराला र निर्मात्री पूजना प्रधान पनि मुख्य भूमिकामा रहने शर्माले बताए । ठमेलका सडक बालबालिकाहरूको कथामा आधारित चलचित्रको स्क्रिप्ट निर्मात्री प्रधान आफँैले लेखेकी हुन् । प्रधान सडक बालबालिकाको भूमिकामा देखिनेछिन् । नायिका प्रधान निर्मात्री भएको यो पहिलो चलचित्र हो । लामो अन्तरालपछि फेरि नेपाली रजतपटमा फर्किएकी सञ्चिताको पुनरागमन कतिको दमदार हुन्छ, त्यसका लागि भने फिल्म रिलिजसम्म कुर्नुपर्ने हुन्छ, आशा गरौँ, सञ्चिताले फेरि दर्शकको माया पाउने छिन् र उनले आगामी समय नेपाली रजतपटलाई दिनेछिन् ।

प्रतिक्रिया