व्यवसायीले आर्थिक विषयमा दलका शीर्ष नेतासँग बहस गर्ने

काठमाडौं, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा राजनीतिक दलबीच न्यूनतम साझा सहमति बनोस् भन्ने उद्देश्यले यसैसाता विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग बहस गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्यले घोषणापत्रमा आर्थिक मुद्दालाई प्रमुख प्राथमिकतामा राख्न निरन्तर सुझाव र दबाब दिँदै आएको महासंघले त्यसलाई व्यवहारमा लागू गराउने प्रतिबद्धताका निम्ति राष्ट्रिय बहस आयोजना गर्न लागिएको बताए । बहसमा महासंघले मुलुकका प्रमुख राजनीतिक दल एमाओवादी, नेपाली काँग्रेस, नेकपा(एमाले), मधेसी जनअधिकार फोरम नेपाल, फोरम प्रजातान्त्रिक, मधेसी जनअधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा (माले) र सद्भावना पार्टीलाई निमन्त्रणा गरेको छ । चुनावी घोषणापत्रमा आर्थिक मुद्दाहरूलाई दिएको प्राथमिकताबाट अब राजनीतिक दलहरू विस्तारै निजी क्षेत्रले उठाउँदै आएका मुद्दातर्फ आफूलाई केन्द्रित गर्न थालेको महसुस निजी क्षेत्रले गर्न थालेको उनले बताए । आगामी बुधबार यहाँ आयोजना हुने बहसमा राजनीतिक दलहरूलाई जिम्मेवार, जनउत्तरदायी र आम जनताप्रति जवाफदेही बनाउन मद्दत मिल्ने आशा गरिएको उहाँले उल्लेख गरे । पूर्वाञ्चलको विराटनगरमा पनि चुनाव अगावै राष्ट्रिय पार्टीका उम्मेदवारहरूसँग यस्तै कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया