आन्दोलन साम्प्रदायिक बनाउन दवाव: लेखी

Rajkumar-Lekhiकैलाली, १० कात्तिक । राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले आइएनजीओ, एनजीओ, अन्तर्राष्ट्रिय शक्तिहरुले आदिवासी जनजातिहरुको आन्दोलनलाई साम्प्रदायिक बनाउन पटक पटक दवाव र धम्की दिएको खुलासा गरेका छन् ।
कैलालीको धनगढीमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखीले साम्प्रदायिक आन्दोलन गर्न दवाव दिने आइएनजीओहरुको षड्यन्त्रलाई आफूहरुले निस्तेज पारिदिएको दाबी गरे । ‘आइएनजीओ, एनजीओ र केही पश्चिमा मुलुकहरुले आदिवासी जनजातिहरुको आन्दोलनलाई साम्प्रदायिक बनाउन दवाव दिएका थिए,’ उनले भने, ‘आदिवासी जनजाति महासंघले त्यस्तो दवावलाई निस्तेज बनाई दिएको छ ।’
‘एनजीओको आवरणमा आदिवासी आन्दोलन चलाउने अतिवादीहरुलाई मिडियाले प्राथमिकता दिनु हुंदैन,’ उनले भने, ‘नेपाल आदिवासी जनजाति महासंघको धारणा मात्रै आदिवासी जनजातिको साझा धारणा हुन सक्छ ।’
लेखी आदिवासी जनजाति महासंघका अध्यक्ष समेत रहि सकेका छन् । लेखीकै कार्यकालमा बेलायतको अन्तर्राष्ट्रिय सहयोग संस्था डीफीडले महासंघलाई दिंदै आएको सहयोग रोकीदिएको थियो ।
उनले आदिवासी जनजाति आन्दोलनका नाममा डलर खेती भइरहेको दोहराए । ‘यो सत्य कुरा बोल्न म डराउंदिन,’ उनले भने, ‘यो विचार फिर्ता लिनुस्, खण्डन गर्नुस् भनेर विभिन्न एनजीओ र आइएनजीओका साथीहरुले मलाई दवाब र धम्की दिएका छन् ।’
यसैबीच, अध्यक्ष लेखीले वर्तमान चुनावी प्रक्रियालाई यथावत राखेर छुटेका दलहरुलाई सहभागी गराउन चुनावको तिथि पछाडि सार्नुपर्ने बताए । उनले मंसिर चार गतेको चुनाव सार्नुपर्ने बताएका हुन् ।
‘नेकपा माओवादी सहितका दलहरुलाई सहभागी नगराई मंसिर ४ गते चुनाव गर्न त सकिएला तर त्यसपछिको स्थिति घातक हुनेछ,’ उनले भने ।
उनले अहिलेसम्म चुनावी प्रक्रिया जहांसम्म पुगेको छ त्यसलाई कायम राख्दै चुनावी मैदानमा थप पार्टी र उम्मेदवारहरुलाई प्रवेश गराउनु बुद्धिमानी हुने सुझाव दिए ।

प्रतिक्रिया