काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जातीय आधारमा संघीयतामा गए देशमा गृहयुद्ध हुने बताएका छन् । चुनावी अभियानका क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत गोठाटार गाविसमा आयोजित कार्यक्रममा नेता नेपालले एमाओवादीले जातका आधारमा राज्य विभाजन गर्न खोजेर देशमा रगतको खोलो बगाउन खोजेको आरोप लगाए । त्यस क्षेत्रका उम्मेदवारसमेत रहेका नेता नेपालले सबै जाति, धर्म र समुदायको पहिचानलाई सम्मान गर्दै राष्ट्रिय एकता कायम गर्ने अभियानमा आºनो पार्टी रहेको बताए । नेता नेपालले आºनो पार्टीले सधैँ नेपाली जनताको भलो चिताउनेबाहेक अर्को कुनै काम नगरेको दाबी गरे । झन्डै एक घन्टा लामो सम्बोधनका क्रममा नेता नेपाल एमाओवादीका गल्ती, कमजोरी खुट्याउनमा व्यस्त रहे । नेता नेपालले अघिल्लो संविधानसभा एमाओवादीका कारण विघटन भएको आरोप पनि लगाए । संविधानसभा विघटन हुनुभन्दा १२ दिनअघि एमाओवादी, कांग्रेस र एमालेबीच भएको सहमति एमाओवादीले तोडेका कारण संविधान बन्न नसकेको दाबी नेता नेपालले गरे । उनले एमाओवादीकै कारण नेपाली जनताले नयाँ संविधान पाउन नसकेको दाबी गरे । एमालेका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालले आºनो पार्टीले बहुमत ल्याएमा वृद्धवृद्धा, युवा र स्थानीय तहसम्मको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । आºनो पार्टीको सरकार बनेमा वृद्धवृद्धाको भत्ता पाँच सयबाट बढाएर एक हजार गराइदिने, प्रत्येक गाविसलाई दिइँदै आएको रकममा वृद्धि गरेर ५० लाख रुपैयाँ पुर्याउने र शिक्षा, स्वास्थ्यलगायत नौ स का लागि प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोडको व्यवस्था गर्ने जानकारी पनि नेता नेपालले दिए । समयमा संविधान बनाउनका लागि र सबै पक्षलाई समेट्नका लागी अबको संविधानसभामा एमालेको बहुमत आवश्यक रहेको नेता नेपालले बताए । उनले आºनो पार्टी लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै आलंकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको बताए । प्रधानमन्त्री सीधै जनताले चुन्ने प्रस्ताव आºनो पार्टीले अघि सारेको पनि नेता नेपालले बताए । चुनावी सभामा एमालेका नेता तथा कलाकार भुवन केसीलगायतले एमालेको पक्षमा मत माग्दै सम्बोधन गरेका थिए ।
योगेशको पक्षमा जनलहर
आसन्न संविधानसभा निर्वाचनमा काठमाडौंको क्षेत्र नं ६ पनि चर्चाको शिखरमा रहेको छ । त्यसै कारण विभिन्न दलका उम्मेदवारले आºनो चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसै क्रममा एमाले काठमाडौं क्षेत्र नं.६ ले शनिबार पदयात्रा कार्यक्रम गरेको छ । काठमाडौं–६ का एमाले उम्मेदवार योगेश भट्टराईलाई संविधानसभाको निर्वाचनमा जिताउन आह्वान गर्दै शनिबार पदयात्रा गरेको हो । नेपालटारबाट सुरु भएको पदयात्रा मनमैजु, बालाजु, गोङगबु, सामाखुसी, गल्कोपाखा, ठमेल, असन, बागबजार हुँदै रत्नपार्क पुगेर सकिएको थियो । पदयात्रामा १० हजारभन्दा बढी सर्वसाधारण सहभागी थिए । नेता भट्टराईलाई पदयात्राको क्रममा क्षेत्र नम्बर ६ का मतदाताले भव्य स्वागत गरेका थिए । बिहान ७ बजे नेपालटारबाट सुरु भएको पदयात्रा १२ बजे सकिएको थियो । शनिबारको पदयात्रा र सर्वसाधारणको समर्थन हेर्दा क्षेत्र नम्वर ६ मा योगेश भट्टराईको जीत सुनिश्चित भएको दावी सहभागीहरूले गरे । एमाओवादी र काग्रेस समर्थक सर्बसाधरणहरूले समेत यस पटकको निर्वाचनमा युवा उम्मेदवार योगशलाई मत दिने बताए । सो क्षेत्रबाट यसअघि एमाओवादीले चुनाव जितेका थिए । विजयी उम्मेदवार एकैपटक पनि निर्वाचन क्षेत्रमा नगएकाले एमाओवादीका कार्यकर्ता समेत आक्रोशित छन् । काठमाडौ क्षेत्र न ६ मा योगेशलाई नै मतदान गर्नुपर्ने एमाओवादी मनमैजुका कार्यकर्ता शिब लम्सालले बताए । उनले भने ‘हाम्रा उम्मेदवार जितेर बेपत्ता हुन्छन्, योगेशले जित्यो भने जनताको दुखसुखमा पनि साथ दिन्छन् ।’ यो क्षेत्रमा योगेश भट्टराई, नेपाली कांग्रेसका तर्फबाट भीमसेनदास प्रधान र एमाओवादीका तर्फबाट हिमाल शर्मा उम्मेदवार छन् । त्यस्तै, संघीय समाजवादी पार्टीका तर्फबाट पूर्व मेयर केशव स्थापित पनि उम्मेदवारका रूपमा रहेका छन् ।
प्रतिक्रिया