नेकपा (संयुक्त)को घोषणापत्र सार्वजनिक

काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले सामथ्र्य र पहिचान तथा भौगोलिक सुगमतालाई आधार मानेर नौ प्रदेशसहितको राज्यको सङ्घीयस्वरूप निर्धारण गर्नुपर्ने विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।

पार्टीले शनिवार आयोजना गरेको कार्यक्रममा पार्टीका अध्यक्ष चन्द्रदेव जोशी, सहअध्यक्ष गणेश शाह र महासचिव सुनिल मानन्धरले संयुक्तरूपमा सार्वजनिक गरेको घोषणापत्रमा हिमाल र पहाडमा ६ प्रदेश तथा तराईमा तीन प्रदेश कायम गरिनुपर्ने उल्लेख गरिएको छ । दुई भागमा विभाजन गरिएको सो घोषणापत्रको प्रथम भागमा प्रस्तावना, पहिलो संविधानसभाले किन संविधान दिन सकेन ? संविधानसभा विघटनपछिको राजनीतिक अवस्था र जटिलताहरू, पार्टीको संघर्षमय इतिहास, पार्टीको सैद्धान्तिक आधार र राजनीतिक प्रतिबद्धता, वाम एकता तथा सहकार्यको आवश्यकताका विषय रहेका छन् ।
शक्ति पृथकीकरण र कानुनी राज्यको अवधारणा, सामाजिक–आर्थिक रूपान्तरणका लागि जातीय तथा लैंगिक विभेदको अन्त्य गरी समान अधिकार र सम्मान स्थापित गरी समाजमा अस्तित्वमा रहेका विविध संस्कृतिलाई लोप हुनबाट संरक्षण गर्ने बहुभाषिक नीति लागू गर्नेलगायतका विषय घोषणापत्रमा समावेश गरिएको छ । पार्टीका अध्यक्ष जोशीले मुलुकमा विकेन्द्रित शासन व्यवस्था कायम गरी राज्यसत्तामा सबैको समान पहुँच र पहिचान कायम गर्न तथा न्यायिक रूपले राजस्व बाँडफाँड गर्ने पार्टीको नीतिअनुसार सो घोषणापत्र ल्याइएको बताए ।
उनले अन्तर्राष्ट्रिय शक्तिको चलखेलका कारण निर्वाचनमा चुनौती थपिएको अहिलेको अवस्थामा मुलुकको सार्वभौमिकता तथा स्वतन्त्र अस्तित्व कायम राख्न निर्वाचनलाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया