एमाओवादी उम्मेदवारको गाडीमा आगजनी

बेलौरी (कञ्चनपुर), १० कात्तिक । एकीकृत नेकपा (माओवादी) निर्वाचन क्षेत्र नं ४ का प्रत्यक्षतर्फका उम्मेदवार मोहन गिरी चढेको गाडीमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता बिर्खबहादुर रावलका अनुसार आज दिउँसो २:३० बजे गिरीको म १ ज ७३ नम्बरको महिन्द्रा जिपमा आगजनी भएको हो । भीमदत्त नपा–५ वनखेतस्थित गाडी रोकिएको अवस्थामा एक्कासी दुई अपरिचित व्यक्तिले गाडीमा आगो लगाएर भागेको प्रहरी प्रवक्ता रावलले बताए । आगजनीबाट गाडीको पछाडिको दुईवटै सिट जलेर नष्ट भएको र अन्य भागमा पनि आंशिक क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचन बहिस्कारवादी समूहले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । एमाओवादी कञ्चनपुरले नेकपा–माओवादीका कार्यकर्ताले गाडीमा आगजनी गरेको आरोप लगाएको छ । एमाओवादीका सचिव गगन सिंहले नेकपा–माओवादीका कार्यकर्ताले आगजनी गरेको दाबी गरे । यसैबीच, नेकपा–माओवादीका केन्द्रीय सदस्य डिडी पाण्डेले आफ्ना कार्यकर्ताले गाडीमा आगजनी नगरेको स्पष्ट गरे । आगजनी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया