क्रिश्चियन मिसिनरीहरुको ठूलो रुचि : लेखी

Rajkumar-Lekhiकाठमाडौं, ९ कात्तिक । राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले नेपालको आदिवासी जनजाति आन्दोलनमा पश्चिमा विशेष गरेर त्रिश्चियनहरुको ठूलो रुचि रहेको बताएका छन् ।
नेपालगञ्जमा आज (शनिबार) पत्रकार सम्मेलन गरेर अध्यक्ष लेखीले जनजाति आन्दोलनमा आइएनजीओहरुको पनि विशेष रुचि रहेको बताए । आदिवासी जनजाति महासंघका अध्याक्ष समेत रहि सकेका लेखीले भने, ‘नेपालको आदिवासी जनजाति आन्दोलनमा पश्चिमाहरु, आइ एनजीओहरु र क्रिश्चियन मिसिनरीहरुको ठूलो रुचि छ ।’

लेखीले आदिवासी जनजाति आन्दोलनलाई गलत दिसामा लैजान उनीहरुले प्रयास गरिरहेको आरोप लगाए ।

नेपाली मिडियाले आदिवासी जनजाति आन्दोलनलाई गलत रुपमा प्रस्तुत गरेको उनको आरोप छ । ‘मिडियाले आदिवासी जनजातिभित्रका ब्राम्हणवादी, अतिवादी र डलरवादीहरुको धारणालाई मात्र प्रश्रय दिने गरेको छ,’ उनले भने, ‘अतिवादी र डलरवादीहरुको धारणा नै समग्र आदिवासीहरुको तथा नेपाल आदिवासी जनजाति महासंघको धारणा हो भनेजस्तो गरी मिडियाले प्रचार गरिरहेको छ ।’

नेपालका आदिवासी जनजातिहरुको साझा धारणा नेपाल आदिवासी जनजाति महासंघले मात्र व्यक्त गर्न सक्ने भन्दै अध्यक्ष लेखीले कुनै अतिवादीहरुको धारणा समग्र आदिवासी जनजातिको धारणा हुन नसक्ने बताए ।

उनले तराईमा एकप्रदेश नै बनाउने षड्यन्त्र सुरु भएको बताएका छन् । उनले एकप्रदेशमा सहमति नभए दुईवटा सम्म बनाउने तयारी भएको आफू समक्ष जानकारी आएको बताए ।

‘केही सीमित मधेशवादी नेताहरुको व्यक्तिगत स्वार्थपूर्तिका लागि तराईलाई थोरै प्रदेश बनाउने षडयन्त्रलाई पुर्नजीवित गरिँदैछ ।’ उनले त्यसो गरिए आफूहरुले नमान्ने बताए ।

प्रतिक्रिया