पाँच संघीय राज्य र सनातन हिन्दू धर्म प्रस्ताव

Chure-Bhawar Bhumiraj Niraulaकाठमाडौं, ९ कात्तिक । सनातन हिन्दू धर्मसहित चुरेभावर लोकतान्त्रिक पार्टीले चुनावी घोषणापत्र अर्थात प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
राजधानीमा आज (शनिबार) पत्रकार सम्मेलन गरेर चुरेभावर लोकतान्त्रिकले पाँचवटा संघीय राज्यसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । ‘मुलुकलाई संघीयतामा रुपान्तरण गर्दा एकल जातीय नभई नेपालकै भौगोलिक तथा ऐतिहासिक पहिचानका आधारमा पाँच वटा संघीय राज्यमा रुपान्तरण गरिने छ,’ घोषणापत्रमा उल्लेख छ ।
चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भूमिराज निरौलाले मुलुकले धान्न सक्ने र सवै जातजाति, क्षेत्र र समूदायको अपनत्व रहने संघीय राज्यको कल्पना गरिएको बताए । ‘संघीयता जटिल मुद्दा हो,’ उनले भने, ‘सवै समूदायको अपनत्व रहने गरी संघीयतामा जानुपर्छ ।’
निरौलाले शासकीय स्वरुपमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाटै निर्वाचित सेरेमोनियल राष्ट्रपति प्रस्ताव गरिएको जानकारी दिए । पार्टीले हाल प्रचलित तीन तहको न्यायपालिका नै कायम राख्न प्रस्ताव गरेको छ ।
चुरेभावर लोकतान्त्रिक पार्टीले सवै नेपालीले मान्ने नेपालका धर्मलाई मान्यता दिन र मुख्य धर्म सनातन हिन्दू धर्म कायम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । उसले मुख्य राष्ट्रिय भाषा नेपाली र राष्ट्रिय पोसाकमा पुरुषका लागि दौरा, सुरुवाल, टोपी र महिलाका लागि साडी, चोलो कायम गर्नुपर्ने प्रस्ताव राखेको छ ।
१८ वर्ष पुगेका नागरिकलाई तीन महिने स्वयंसेवक तालिम प्रदान गर्ने, १२ कक्षासम्म नि:शुल्क शिक्षा, सहुलियत पसल, क्यान्सर, मृगौला, मुटुलगायतका जटिल रोगमा सरकारबाट नि:शुल्क उपचारको व्यवस्था चुरेभावर लोकतान्त्रिकको प्रस्ताव छ ।

प्रतिक्रिया