काठमाडौं, ९ कात्तिक । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले नेकपा–माओवादीले जनअधिकार छिन्ने गरी आत्मघाती कदम सञ्चालन गरेको टिप्पणी गरेका छन ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले नेकपा–माओवादीले सञ्चालन गरेका हिंसात्मक घटनालाई राजनीतिक भन्न नमिल्ने बताए । ‘नेकपा–माओवादीका गतिबिधिलाई राजनीतिक भन्न मिल्दैन,’ उनले भने, ‘यस्ता हिंसात्मक गतिविधि उनीहरुकै लागि आत्मघाती हुन्छ ।’
उनले जतिनै अवरोध भए पनि मंसिर–४ गते नै निर्वाचन हुने दोहर्याए ।
मुलुकभरि बिभिन्न राजनीतिक दलका उम्मेदवार माथि आक्रमण बढेकोमा चिन्ता जनाएका सापकोटाले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल पुगेका जिल्ला बन्द गर्ने जस्ता गतिबिधि सञ्चालन गरेर नेकपा–माओवादीले राम्रो गरेन ।’
उनले उछृङखल घटना दोहोरिन नदिन सरकार सजग र सचेत हुँदै कडा कदम चाल्नुपर्ने बताए । सरकारलाई कानून कार्यान्वयन र सुरक्षा बनाउन अध्यक्षले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरीसकेको बताए ।
प्रतिक्रिया