शिक्षामा ५१ करोड लगानी

मुस्ताङ : शिक्षा मन्त्रालयले शिक्षाका लागि यस वर्ष करिब रु ५१ करोड लगानी गर्ने भएको छ ।
शिक्षा विभागले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि रु ४१ करोड आठ लाख ३३ हजार विनियोजन गरेको छ । यसैगरी शिक्षकको वार्षिक तलब करिब रु नौ करोड, जिल्ला शिक्षा कार्यालयका कर्मचारीको तलबसहित साधारण बजेट करिब रु एक करोड गरी जिल्लामा करिब रु ५१ करोड शिक्षामा सरकारले खर्च गर्ने भएको हो । जिविस, विभिन्न गैरसरकारी संस्था, सरकारका अन्य विभाग, मन्त्रालय, व्यक्तिविशेषले गर्ने लगानी यसमा समावेश नभएको जिल्ला शिक्षा कार्यालयका उपसचिव रामप्रसाद आचार्यले बताए ।
विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि रु ७९ लाख, साक्षरता शिक्षाका लागि रु २७ लाख, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रु १० लाख ६५ हजार, शिक्षक तालिमका लागि रु १५ लाख १६ हजार तथा विद्यालय व्यवस्थापन र अनुगमनका लागि रु २२ लाख २४ हजार विनियोजन भएको छ ।
हिमाली छात्रवासका लागि रु ११ लाख २४ हजार छात्रवृत्ति र शैक्षिक सामग्रीका लागि रु ५३ लाख ५७ लाख विद्यालयमा अनुदानका रूपमा प्रदान गरिने उपसचिव आचार्यले जानकारी दिनुभयो । विद्यालय शिक्षामा पहुाचको सुनिश्चितताका लागि रु १३ लाख ५० हजार र प्रारम्भिक बालविकास तथा शिक्षाका लागि रु २१ लाख ९४ हजार विनियोजन भएको छ । यसैगरी शिक्षकको वार्षिक तलब करिब रु नौ करोड र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको तलब एवम् अन्य साधारण खर्च करिब रु एक करोड हुने देखिन्छ ।
जिल्लामा एक हजार २८२ छात्रा र एक हजार २५३ छात्र कक्षा १ देखि १२ सम्म अध्ययनरत छन् । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यार्थीको व्यक्तिगत विवरणसहितको परिचय खुल्ने विवरण अद्यावधिक गरिसकेको छ ।

प्रतिक्रिया