तेल उद्योगमा प्रशासनको छापा

भैरहवा, ७ कात्तिक । नेपालमै सबैभन्दा लोकप्रिय खाने तेलका ब्रान्डमा मिसावट भएको उपभोक्ताले गुनासो गरेपछि ती तेल उत्पादन गर्ने उद्योगमा प्रशासनले छापा मारेको छ । सुनकोसी, निर्मल, अंकुर, बैलकोल्हु र रौनक ब्रान्ड उत्पादन गर्ने तेल उद्योगमा जिल्ला बजार अनुगमन समितिले छापा मारेको छ ।

अंकुर ब्रान्डको तेलमा अखाद्य पदार्थ मिसिएको भन्दै उपभोक्ताले अंकुर ब्रान्डको तेलसहित जिल्ला प्रसासनमा उजुरी दिएपछि जिल्ला बजार अनुगमन समितिले तेल उद्योगमा छापा मारेको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक रामबहादुर कुरुम्बाङ्को नेतृत्वमा खटिएको बजार अनुगमन समितिले दुर्गा मोडर्न आयल मिल पडसरी रौनक आधुनिक तेल उद्योग पडसरी, गोविन्द आयल इन्डस्ट्रिज पडसरीमा छापा मारेको अनुगमन समितिका सदस्यसचिव, वाणिज्य कार्यालय भैरहवाका निमित्त प्रमुख मुक्ति प्रसाद पाण्डेले जनकारी दिए ।
छापा मारिएका उद्योगबाट समितिले नमुनाका लागि चार/चार पोका आधा लिटरको तेल लिइएको छ । ती तेलका पहुँचलाई केन्द्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय काठमाडौं र क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा पठाइने समितिका सदस्य तथा क्षेत्रीय खाद्य प्रविधि कार्यालयका खाद्य अधिकृत श्रवण ढुंगानाले बताए ।
प्रयोगशालामा परीक्षणमा अखाद्य पदार्थ मिसिएको प्रमाणित भएमा कालो बजारी ऐनअनुसार कारबाही गरिने समितिका संयोजक कुरुम्बाङले जनाए । उनले भने, ‘खाद्य ऐनअनुसार कारबाही गर्दा उत्पादकहरूले लापरबाही गरिरहने पाइएकोले हदैसम्मको कारबाहीका लागि कालोबजारी ऐनअनुसार मुद्दा चलाइन्छ ।’ कालो बजारी ऐनअनुसार दोषी प्रमाणित भएमा उद्योग सञ्चालक र व्यवस्थापकलाई तत्काल पक्रेर ५ वर्षसम्म कैद र बिगोअनुसारको कारबाही गर्ने प्रावधान रहेको छ ।
सोमबारको अनुगमनमा जिल्ला घरेलुका प्रमुख टंक पाण्डे, सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य नेत्र आचार्य, पत्रकार, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया