‘काम गर्न सकिएन’

परासी : एमाओवादी नेता डा. बाबुराम भट्टराईले पहिलो संविधानसभाको निर्वाचनपछि आफूहरूको नेतृत्वमा दुईपटक सरकार बने पनि यथास्थितिवादीहरूका कारण सोचेजति काम गर्न नसकेको दाबी गरेका छन् । एमाओवादीले गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा एमालेले विभिन्न अवरोध सिर्जना गरेर जनताको पक्षमा काम गर्न नदिएको आरोप डा. भट्टराईले लगाए ।
नवलपरासीको कावासोतीमा बुधबार आयोजित गाउँस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. भट्टराईले एमाओवादीको शासनकालमा एकपटक मात्र आफूहरूले बजेट प्रस्तुत गर्न पाएको बताउँदै सो बजेटमा प्रशस्त जनमुखी कार्यक्रमहरू ल्याइएको दाबी गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू अर्थमन्त्री हुँदा ल्याइएको सो बजेट अत्यन्तै लोकप्रिय रहेकोसमेत डा. भट्टराईको भनाइ थियो ।
पहिलो संविधानसभाको निर्वाचनपछि एमाओवादी ठूलो पार्टी भए पनि संविधान निर्माणका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त नभएकाले संविधान जारी गर्न नसकेको डा. भट्टराईले बताए ।
नेता भट्टराईले फेरि पनि एमाओवादीलाई बहुमत प्राप्त नभए संविधान नबन्ने खतरा कायमै रहेको बताए । एमाओवादी जातीय पहिचानसहितको संघीयताको पक्षमा रहेको स्पष्ट पार्दै उनले पहिचान दिँदैमा र संघीयतामा जाँदैमा देश नटुक्रने स्पष्ट पारे ।

प्रतिक्रिया