सौर्य दैनिकका पत्रकार योगीलाई आक्रमण

Bimal-Yogi-Binod-Nepaliकाठमाडौं, २ कात्तिक । सौर्य दैनिकका पत्रकार विमल योगीलाई काठमाडौंको कलंकीमा आक्रमण हुंदा टाउकामा चारवटा टांका लागेको छ ।

दसैं मनाएर शुक्रबार बेलुका आठ बजे कलंकलीस्थित मकालु पेट्रोल पम्म नजिकै उत्रिएका योगीलाई बा १ ज ७८१७ नम्बरको ट्याक्सीका चालकले आक्रमण गरेका हुन् । नवलपरासी जिल्ला नारायणी गाविस घर भएका चालक राजन बस्नेतको आक्रमणबाट पत्रकार योगीको टाउकोमा गम्भीर चोट लागेको महानगरीय प्रहरी बृत्त कालिमाटीका नायव उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

सपरिवार बसबाट उत्रिएर अर्को ट्याक्सीमा चढ्ने तयारी गरिरहंदा आफ्नो ट्याक्सीमा नचढेको तथा भने जती भाडा दिन नमानेको भन्दै चालक बस्नेतले आफूलाई आक्रमण गरेको पत्रकार योगीले जानकारी दिए । ‘बसबाट सामान ओरालेर ट्याक्सीमा चढ्ने तयारी गर्दै थिए,’ योगीले भने, ‘बा १ ज ७८१७ नम्बरका चालक राजन बस्नेतले तथानाम गाली गरेर आक्रमण गरे ।’ अर्को ट्याक्सीसंग अनामनगर जानका लागि कुरा गर्दै गर्दा बिचमा हस्तक्षेप गरेर चालक बस्नेतले निहुं खोजेका हुन् । अर्को ट्याकसीलाई मिटरमा पनि जान नदिने र बस्नेतले धेरै पैसाको माग गरे पछि विवाद चुलिएको प्रहरी भनाई छ ।

ट्याक्सीले मिटरबाट जान नमानेर बढि रकम लिने गरेको तथा सर्वसाधारणलाई दु:ख दिने गुनासाहरु बढिरहेका बेला पत्रकार योगीलाई पनि ट्याकसी चालकले कुटपिट गरेका छन् । चालक बस्नेतको प्रहारबाट टाउकोमा गम्भीर चोट लागे पछि शुक्रबार राति करीव साढे आठ बजे प्रहरीले उद्दार गरेर कलंकीस्थित सीटी अस्पतालमा उपचार गराएको थियो । नायव उपरीक्षक भट्टराईले चालकलाई कानूनको दायरमा ल्याएको बताए । उनले पीडित र पीडक पक्षबीच सहमतिका लागि प्रयास भईरहेको बताए ।

यसैबीच, सौर्य दैनिकले पत्रकार योगीलाई भएको सांघातिक आक्रमणको निन्दा गरेको छ । पत्रकार योगीलाई आक्रमण गर्ने दोषीलाई कानून बमोजिम कारबाही र उपचार गर्न सौर्य दैनिकले माग गरेको छ । कुनै विषयमा चित्त नबुझ्दा कानूनी उपचार लिने ठाउं हुंदाहुंदै सांघातिक आक्रमणमा उत्रने ट्याक्सी चालकको रवैयाबाट स्तब्ध भएको सौर्य दैनिकले जनाएको छ ।

त्यसै गरी दाङ काठमाडौं पत्रकार समाजले पनि पत्रकार योगी माथि भएको सांघातिक आक्रमणको विरोध गरेको छ । योगी समाजका वरिष्ठ उपाध्यक्ष पनि हुन् । समाजले दोषीलाई कारबाही तथा घाईतेको उपचार गर्न माग गरेको छ ।

प्रतिक्रिया