काठमाडौं, २४ असोज । बिमा समितिले उद्योगपति राजेन्द्र खेतान अध्यक्ष रहेको एभरेस्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति भंग गरी व्यवस्थापन लिएको छ । निर्देशनको उल्लंघन तथा उधारोमा बिमा गरेपछि समितिले बुधबार बिमा ऐनअनुसार एभरेस्ट इन्स्योरेन्सका सञ्चालकहरूलाई कारबाहीसहित व्यवस्थापन सम्हालेको हो ।
बिमा ऐन २०४९, बीमा नियमावली २०४९ तथा समितिबाट समय–समयमा जारी निर्देशन उल्लंघन गरी बीमा व्यवसायमा रोक लगाउनुपर्नेसम्मको अवस्था सृजना गराउने कार्यमा संलग्न भएकाले सञ्चालकहरूलाई कारबाही गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष फत्तबहादुर केसीले कम्पनीका अध्यक्ष खेतानलाई पाँच वर्षसम्म कुनै पनि बिमा कम्पनीको सञ्चालक समितिलगायत बिमकको अन्य कुनै पनि हैसियतमा रहन रोक लगाइएको जानकारी दिए । अध्यक्ष केसीका अनुसार सञ्चालक सदस्यहरूलाई पनि पाँच वर्षसम्मै कुनै पनि बीमा कम्पनीमा बिमकको हैसियतमा रहन रोक लगाइएको छ ।
समितिले चार्टर्ड एकाउन्टेन सन्तोष प्रसाईंको संयोजकत्वमा तीन जनाको नयाँ व्यवस्थापन समूह बनाई कम्पनी सम्हाल्न खटाएको छ । नयाँ व्यवस्थापन समूह सदस्यहरूमा समितिका उपनिर्देशक कुन्दन सापकोटा र सहायक निर्देशक ओमबहादुर अधिकारी छन् । सञ्चालक समितिको अधिकार प्रयोग गर्ने गरी बिमा समितिका विज्ञ सदस्य सुरज बिक्रम शाहीको संयोजकत्वमा बीमाविज्ञ भोजराज शर्मा एवं आवश्यकतानुसार आमन्त्रित विज्ञ सदस्य रहने गरी सल्लाहकार समूहसमेत तोकिएको छ । व्यवस्थापन समूह र सल्लाहकार समूहलाई ६ महिनाभित्र साधारणसभा गरी नया सञ्चालक समिति गठन गरी व्यवस्थापन हस्तान्तरण गर्न समितिले निर्देशन दिएको छ । बिमकलाई पुग्न गएको नोक्सानीको छानबिन गरी बिगो असुलउपर गर्न र दोषीमाथि कारबाही चलाउने जिम्मेवारीसमेत तोकिएको केसीले सौर्यलाई बताए ।
समितिले बिमा ऐन २०४९ को दफा १२ (क) को उपदफा (१) बमोजिम साउनदेखि अग्नि प्रिमियममा रोक लगाएको थियो । तर, बिमकबाट बिमा ऐनबमोजिम रोक लगाइरहनुनपर्ने कारणसहित सोको प्रमाण संलग्न गरी समिति सन्तुष्ट हुने गरीे विवरण पेस गर्न दिएको निर्देशन नमानेको उनले बताए । त्यस्तै, सञ्चालकहरूलाई समितिमा अनिवार्य उपस्थितिका लागि बोलाइएकोमा दुई जना मात्र उपस्थित भएको र सञ्चालक समितिले अग्नि प्रिमियममा लगाइएको रोक फुकुवा गर्नेतर्फ प्रयास नगरेका कारण बाध्य भएर कारबाही गरिएको समितिले जनाएको छ । समितिमा उपाध्यक्ष रतनलाल संघाई, सञ्चालक सदस्यमा वीरेन्द्रकुमार शाह, मधुसुदन अग्रवाल, निरन्जनकुमार टिबडेवाला, ओमप्रकाश सिकारिया, प्रेमप्रकाश खेतान, प्रसाद ज्ञवाली र रविकुमार टिबडेवाला थिए ।
‘बिमा क्षेत्रमा पर्न गएको नकारात्मक प्रभावलाई तत्काल सम्बोधन गरी बिमा, बिमित, साना लगानीकर्ता एवं सर्वसाधारणको हित संरक्षण गरी बिमा क्षेत्रमा विश्वसनीयता कायम राख्न यो कदम चालिएको हो,’ केसीले भने । ‘सर्भेयर’को पूर्णप्रतिवेदन नआउँदै कम्पनीले हिमालयन स्न्याक्सलाई चार करोड भुक्तानी दिएको भन्दै समितिले एभरेस्ट इन्स्योरेन्सलाई कारबाही गरेको थियो । कारबाही फुकुवा गर्न कम्पनीले माग गरेपछि नियमविपरीत भुक्तानी भएको रकम फिर्ता नगरेकाले समितिले अग्नी प्रिमियम बिमामा रोक लगाएको थियो ।
यसअघि व्यवस्थापन र कमचारीबीचको विवादपछि खेतानले नै बन्द गराएको एभरेस्ट इन्स्योरेन्सलाई समितिले हस्तक्षेप गरी खुलाएको थियो ।
प्रतिक्रिया