एमाओवादीको ढुलमुले नीतिले संविधान बनेन

Prakashman-Shingकाठमाडौं, २३ असोज । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले एमाओवादीको ढुलमुले नीतिले मुलुकले नयाँ संविधान पाउन नसकेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको दुई नम्बर वडाले आज (बुधबार) दुई नम्बर क्षेत्रमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री सिंहले नयाँ संविधानका लागि कांग्रेसको जित हुनै पर्ने बताए । ‘एमाओवादीको ढुलमुले नीति नयाँ संविधान निर्माणमा बाधक बन्यो,’ उनले आरोप लगाए, ‘संविधान बनाउन इमान्दार हुनु पर्छ ।’
मुलुकमा भएका हालसम्मका ठूला विकासका काम कांग्रेसकै पालामा भएको बताएका सिंहले भने, ‘कम्युनिष्टहरुले काम भन्दा धेरै प्रचारमा ध्यान दिन्छन् ।’ कम्युनिष्टहरुले मुलुकका लागि केही नगरेको उनको आरोप छ ।
मुलुकको गरिवी सबै भन्दा ठूलो चुनौति रहेको बताएका महामन्त्री सिंहले युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने तर्फ गम्भीर हुनु पर्ने बताए । ‘युवाहरुलाई रोजगारीका लागि विदेश पलायन हुनबाट रोक्नु पर्छ,’ उनले भने, ‘युवा पलायन रोकेर जलस्रोतलाई भरपुर उपयोग गर्नु पर्छ ।’
नेता नरहरि आचार्य संघीयताका पक्षमा कांग्रेस सधैं रहेको बताए । उनले संघीयताको विषयमा सबै भन्दा पहिला कांग्रेसले उठाएपनि त्यसको जस लिन नसकेको बताए । बामपन्थीहरुले संघीयतालाई नारामा मात्रै सीमित बनाएको आर्चायले आरोप लगाए ।

प्रतिक्रिया